पोखरा, १८ कात्तिक– कोभिड कहरले शुन्यप्राय बनेको पर्यटन क्षेत्रलाई त्राण भर्न दसैंअघि पोखराका व्यवसायीले प्याराग्लाइडिङमा भारी छुटको घोषणा गरे । प्याराग्लाइडिङमा व्यवसायीले ल्याएको नयाँ प्याकेजअनुसार अहिले ३ हजारदेखि ३५ सय रुपैयाँसम्ममा आकाशमा कावा खान सकिन्छ ।
ठप्पै रहेको पर्यटन व्यवसाय यो प्याकेजसँगै केही हदसम्म तंग्रिएको छ । यतिबेला पोखरामा प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटकको घुईंचो नै लागेको छ । दैनिक ८ सय हाराहारिमा प्याराग्लाइडिङले उडान भरिरहेका छन् । उडानमा ६० प्रतिशतसम्म छुट दिएसँगै आकाशमा कावा खानेहरु बढेका हुन् । अन्य पर्यटकीय गतिविधि सञ्चालनमा नआएको र प्याराग्लाइडिङमा भारी छुट दिइएको कारण आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।
महंगो शुल्कका कारण मन भएर पनि उड्न नपाएका आन्तरिक पर्यटकहरु नै छुटसँगै आकाशमा रमाएको व्यवसायीहरुले बताए । ‘अन्य गतिविधि पनि भएन । त्यसमाथि प्याराग्लाइडिङ चार्ज सस्तो पनि भयो’, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले भने, ‘पैला महंगो पनि थियो । ७ हजार, ८ हजारसम्म थियो रेट । अहिले छुटले पनि प्याराग्लाइडिङमा आकर्षण बढेको छ ।’
दसैंपछि काठमाडौंदेखि पोखरा घुम्न आएका पर्यटक कृष्ण लामाले पहिलो पटक प्याराग्लाइडिङको अनुभव लिन थालेको बताए । यसअघि धेरै पटक पोखरा आए पनि प्याराग्लाइडिङको मज्जा नलिएको उनले बताए । उनीसँगै उनको टिममा ६, ७ जना आएका छन् ।
जोमसोम घुम्न घरबाट निस्किएका लक्ष्मीसुन्दर डमरुले मुस्ताङ बन्द भएपछि यतै रोकिएको बताए । उनको पनि प्यराग्लाइडिङको पहिलो अनुभव रहेछ । काठमाडौंबाटै आएकी अर्की आन्तरिक पर्यटक सिवानी खड्काले प्याराग्लाइडिङ गर्नकै लागि पोखरा आएको बताइन् । कोरोनाले घरभित्रै बसेर उकुसमुकुस भएपछि घुम्न निस्किएको उनले बताइन् । लगभग ७ महिना काम विहीन बनेका प्याराग्लाइडिङ पाइलटलाई पनि यतिबेला भ्याई–नभ्याई छ । गएका वर्षहरुमा भन्दा यसपालि दोब्बर पर्यटकको चाप बढेपछि समय तालिका नै मिलाउन गाह्रो पर्ने गरेको प्याराग्लाइडिङ पाइलट गणेश मल्लले सुनाए । ‘लकडाउनअघि सिजनमा ३ सय, ४ सय उडिन्थ्यो । अहिले त त्यसको ठ्याक्कै दोब्बर छ’, उनले भने, ‘दैनिक ७, ८ सय जतिको उडान भई रहेको छ ।’
अर्का पाइलट दावा शेपाले प्याराग्लाइडिङमा नयाँ प्याकेजले पर्यटकको चाप बढाएको बताए ।
नेपाल हवाई खेलकुद संस्थाका उपाध्यक्ष ईन्द्रप्रसाद भण्डारीले गएका वर्षमा दसैं तिहारको छेकोमा ४ सय हाराहारीमा आन्तरिक र बाह्य पर्यटकले प्याराग्लाइडिङ गर्ने गरे पनि यसपालि दोब्बर बढेको बताए । ‘सुरक्षाका उपायमा त अलिकति कम्प्रमाइज गर्नैपर्छ । किनभने, काखमै राखेर उडाउने हो’, उनले भने, ‘तैपनि सुरक्षित भएर उडाई रहेका छौं ।’
अघिल्ला वर्षहरुमा ७५ प्रतिशत विदेशी पर्यटक र २५ प्रतिशत मात्र आन्तरिक पर्यटकले प्याराग्लाइडिङ गर्ने गरे पनि यो वर्ष आन्तरिक पर्यटकहरुले मात्रै पोखराको आकाश ढाँकिएको उनले बताए । अहिले पोखरामा प्याराग्लाइडिङ गराउने ६० कम्पनी छन् । ३ सय बढीको हाराहारिमा रहेका प्याराग्लाइडिङ पाइलटले उडान भरि रहेका छन् । प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटकको चाप थेग्न नसकेर समय तालिका सार्नु पर्ने बाध्यता बढेको छ ।





