सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बाँदर लखेट्न एकोहोरो शंख फुक्छन् किसान !

बाँदर लखेट्न एकोहोरो शंख फुक्छन् किसान !

शंखको आवाजले बाँदर भाग्न थालेपछि किसानले घरेलु विधि अपनाएका हुन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०७७, मंगलबार

बागलुङ, १८ कात्तिक– बर्खाको खेती होस् वा हिउँदको तरकारी । घर छेउका जंगलमा बस्ने बाँदरको बथानले सधैं बिनाश मच्चाउने । खान भनेर लगाएको खेती बाँदरले बोकेर हिँडेपछि किसान सधैं निराश ।
खेतीपाती नासिएकै पीडाले जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका केही घर विस्थापित भए । जैमिनी नगरका सबै वडामा बाँदरको समस्या उस्तै छ । सेतो रंग भएको ठुलो बाँदरभन्दा रातो रंग भएको सानो बाँधरले घर घरमै पसेर खाद्यान्नको बिनास गर्छ । स–सना बालबच्चा र एक्लै भेटिने वयस्कलाई समेत बाँदरले टेर्दैन । कुकुर मात्रै एक्लै भेटेर बाँदरले कुटेका कयौं उदाहरणहरु किसानसँग छन् ।
समुह बनाएर बाँदर लखेट्ने, एक दुईवटा बाँदर छोप्नेदेखि बाँदरले मन नपराउने मोलासिस जातको घाँस लगाउनेसम्मका विधि किसानले गरे । तर केही सिप लागेन् ।
अघिल्लो आर्थिक वर्षमा किसानका गुनासालाई सम्बोधन गर्न नगरपालिकाले बाँदर नियन्त्रणका लागि ५ लाख रुपैयाँ विनियोजन ग¥यो । दश वडा रहेको नगरमा हरेक वडालाई ५० हजार रुपैयाँ बाँदर नियन्त्रणका लागि अनुदान दिईयो । तर केही लागेन् । ‘२४ सै घण्टा हेरेर बस्ने समय किसानसँग हुँदैन, आँखा चिम्लियोकी खेतीमा बाँदरको रजाईँ’ जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेम पौडेल भन्छन् ‘हामीले जानेको सबै विधि अपनाईयो, बथान बढाएको बाँदरले टेर्नै छोड्यो ।’
नगरपालिकाले स्याङ्जाबाट खरिद गरेर बाँदर लखेट्ने मेसिनसमेत किसानलाई दिएको छ । कार्बन पड्काउने मेसिनले धपाएको बाँदर घुमीफिरी आउँदा किसान थप चिन्तित थिए । अनेकौं उपाय लगाएर बाँदर धपाउँदा पनि केही नलागेपछि चिन्तित रहेका यहाँका केही किसानले पछिल्लोपटक अपनाएको विधि भने प्रभावकारी बन्न थालेको छ ।
साविकको कुश्मीशेरा गाउँ विकास समिति वडा नं. २ का किसानले पछिल्लो समय बालीमा बाँदर पसेपछि शंख बजाउन थालेका छन् । शंखको आवाजले बाँदर भाग्न थालेपछि किसानले घरेलु विधि अपनाएका हुन् । ‘सुन्दा नराम्रो सुनिन्छ, पहिले एकदुई पटक एकोहोरो शंख फुक्दा गाउँले तर्सिए’ वडा नं. १ का वडा सदस्यसमेत रहेका किसान रुद्रनाथ शर्माले भने ‘बाँदर बसेको ठाउँमै पुगेर एकोहोरो संख फुकेपछि केहि दिन फर्किन्न ।’
अहिले गाउँका सबैलाई बाँदर आउँदा शंख फुक्ने बानी परेको छ । सबैको घरमा शंख हुने र फुक्नसमेत सबैले सक्ने भएकाले यो विधि उपयुक्त रहेको शर्मा बताउँछन् । किसानले शव बोकेर सागर जाने समयमा बजाएको शंखको आवाजले बाँदर भागेको देखेर यो विधि अपनाएका हुन् ।
बाँदर मार्न नपाईने भएकाले नियन्त्रण गर्न निकै समस्या रहेको सरोकारवाला बताउँछन् । ‘नमारेसम्म बाँदर डराउँदैन् कानुनी रुपमा मार्न मिल्ने व्यवस्था छैन्’ जैमिनी नगरपालिका–२ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले भने ‘पहिले लेकमा नदेखिने बाँदर आजभोलि माथि उक्लिएको छ ।’ उपयुक्त विधि पाए नगरले लगानी गरेरै भएपनि बाँदरको नियन्त्रण गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->