बागलुङ, २१ कात्तिक– गाउँपालिकाले परीक्षणका लागि दिएका किवीका बिरुवा लटरम्म फलेपछि जिल्लाको ताराखोलाका किसान उत्साहित भएका छन् । बिरुवा लगाएको तीन वर्षमै किवीले राम्रो उत्पादन दिएपछि किसान उत्साहित भएका हुन् ।
ताराखोला गाउँपालिका–३ का निरज बगालेले किवीको खेती थालेको वर्षौं भयो । गाउँ विकास समिति हुने बेला हिलको अनुदानमा बिरुवा ल्याएर लगाएका बगालेले अहिले वर्षमा चार सय किलोसम्म किवी फलाउँछन् । ३५ वटा बिरुवाले दिने आम्दानीले उनलाई सधैं उत्साहित बनाउँछन् ।
गाउँकै अगुवा किसान भएकाले उनले लगाएको किवी हेर्न र सिको गर्न आउनेहरु धेरै थिए । गाउँपालिका गठनपछि आर्थिक बर्ष २०७४÷०७४ को बजेटमा गाउँपालिकाले किवीका बिरुवा किनेर बगालेको जस्तै बगान सबै वडामा बनाउने योजना बनायो ।
परीक्षणका लागि हरेक वडामा एक सय वटाका दरले किसानलाई बिरुवा बाँडियो । तीन वर्ष पहिले बाँडिएका बिरुवाले उत्पादन दिएपछि दंग परेको वडा नं. ३ को कृषि सञ्जालका अध्यक्षसमेत रहेका किसान कर्ण भण्डारीले बताए । ‘बगाले सरले धेरै पहिलादेखि बराह खोला र पँधेराखोलामा खेती गर्दै आउनुभएको छ, राम्रो उत्पादन हुन्छ, त्यहीं देखेर हामीले पनि परीक्षण गर्ने योजना बनायौं’ भण्डारीले भने ‘कम लगानीमा राम्रो प्रतिफल पाउने देखियो ।’ बगालेले अहिलेसम्म उत्पादन गरेको किवी गाउँमै बिक्री हुन्छ ।
उनको गाउँमा मात्रै झण्डै १ सय ५० किसानले धेरथोर किवीका बिरुवा लगाएका छन् । गाउँमा उत्पादित किवी गाउँमै खपत हुने गरेको उनले सुनाए । ‘अहिलेसम्म बजारको समस्या छैन्, ३ सय ५० रुपैयाँ किलोमा बेचिरहेको छु’ बगाले भन्छन् ‘बजारको राम्रो प्रबन्ध भए उत्पादन बढाउन सकिन्छ ।’ पाँच वडा रहेको गाउँपालिकाका हरेक वडामा यसवर्ष किवी फलेको छ ।
कसैले परीक्षणका लागि मात्रै लगाएको किवीले दिएको उत्पादनले व्यवसायीक उत्पादनतर्फ उत्साहित बनाएको छभने कसैले व्यवसायिक रुपमै उत्पादन थालेका छन् । ‘बराखोला, धाराखोला क्षेत्रलाई किवी पकेट बनाउने योजना छ’ भण्डारीले भने ‘परम्परागत उत्पादन भन्दा हाम्रो माटोमा किवीले फाईदा हुन्छ ।’
खाद्यन्न बाली उत्पादनभन्दा किवी उत्पादनबाट राम्रो आम्दानी हुने देखेपछि धान, मकै, गहुँ, आलुलगायतका खाद्यन्न तथा दलहन उत्पादनभन्दा किवीमा जोड दिने योजना रहेको उनले सुनाए । विश्व बजारमा किवीको माग अत्याधिक भएकाले ताराखोलाका किसानको आर्कषण बढदै गएको उनले बताए ।
किवीको एउटा बोटबाट एक सय केजीभन्दा बढी उत्पादन हुने र बजारमा प्रतिकेजी ४ सयदेखी ५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । गाउँमा भने मुल्य केही कम छ । किसानको आकर्षणलाई हेरेर गाउँपालिकाले किवी प्रबद्र्धनको योजना बनाउने अध्यक्ष प्रकाश घर्ति बताउँछन् ।
अन्य अन्नबालीको तुलनामा आम्दानी बढि हुने र बजारीकरणका लागि पनि सजिलो हुने भएपछि किबी खेतीतर्फ आकर्षित बनेको कृषकहरु बताउँछन् । किवी फल्नका लागि झाँगिने भएकाले किसानलाई थाँक्राको भने समस्या हुने गरेको छ । ‘बिरुवा वर्षौं रहन्छ तर थाँक्रा कुहिन्छ’ किसान बगाले भन्छन् ‘मल पानीको त्यति हेरै समस्या छैन्, बजारको ग्यारेन्टी भए अरु बालि छोडेर उत्पादनमा लाग्न सकिन्छ ।’
उच्च पहाडी भुभाग, ओसिलो जमिनमा राम्रो फल्ने भएकाले ताराखोलामा किवीको राम्रो सम्भावना रहेको वडा नं. ३ का अध्यक्ष दिल बहादुर बस्नेतले बताए ।





