बागलुङ, २१ कात्तिक– एनसेल आजियाटा लिमिटेडले कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि जनसचेतना फैलाउने अभियान संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ । आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उसले कार्यक्रमका लागि सहकार्य गरेको हो ।
कोरोना भाइरस सम्बन्धी जनसचेतना अभिवृद्धिको यस अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोना भाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन मुख्य उपायहरु—व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुन पानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हात धुने सन्देशलाई व्यापक रुपमा फैलाईएको छ ।
यस अभियान अन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारीहरु समावेश गरी कोरोनाभाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको छ ।
सहकार्यबारे धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘यस विषम् परिस्थितिमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै हाल तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमण रोक्न, पत्ता लगाउन र यसको प्रतिकार्यमा लाग्नका लागि जनचेतना फैलाउन हामी प्रतिबद्ध छौं ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुरै विश्वनै यस स्वास्थ्य संकटको विशम परिस्थितीबाट गुज्रिरहेको अवस्थामा, जनस्वास्थ्य सम्बन्धी जनसचेतनामुलक कार्यहरुले प्रमुख भुमिका राख्ने बताए ।





