तनहुँ, २२ कात्तिक – तनहुँको दक्षिणी भेगको घिरिङ गाउँपालिकाका जनप्रनिधीलाई भ्यू टावर बनाउने मोह जागेको छ । घिरिङकोटको डाँडामा भ्यू टावर ठड्याईसकेको गाउँपालिकाले फेरी २ स्थानलाई छनोट गरी प्रकृया अगाडी बढाएको छ ।
राजमार्गलाई नछोएकाले पर्यटनको सम्भावना हुदाँ समेत ओझेलमा परेपछि घिरिङ गाउँपालिका–३ घिरिङकोट डाँडामा ३ तलाको भ्यू टावर निर्माण भएको छ । गाउँपालिकाले गत आर्थिक बर्षमा छुट्याएको २० लाख रुपैयाँले चिटिक्क परेको भ्यू टावर निर्माण भएको हो ।
भ्यू टावरबाट समग्र घिरिङको दृश्यावलोकन गर्न सकिने गाउँपालिका अध्यक्ष रनबहादुर राना बताउँछन् । त्यहाँबाट देखिने हिमश्रृखंला, हरियाली पहाडका तरेली, कालीगण्डकी नदीको नागबेली बगाई, झुरुप्प परेका घिरिङका गाउँबस्तीको दृश्यले आर्कर्षित गर्ने उनको दाबी छ ।
‘घिरिङ चौबिसे राज्य अन्तर्गतको एक राज्य हो । घिरिङकोटमा राजाले प्रयोग गरेका पुराना हातहतियार र दरबारको भग्नावशेष छ । ऐतिहासिक थलोमा पर्यटकको चहलपहल बढाउन भ्यू टावर बनाएका छौँ’, अध्यक्ष रानाले भने ।
गाउँबाट शहर बसाई झर्नेको लर्को रोक्न गाउँपालिकाले स्थानियलाई आर्थिक गतिविधीसंग जोड्न पर्यटनको प्याकेज निर्माण गरिरहेको उनले सुनाए । ‘कला संस्कृतीमा त हामी धनी नै छौँ । पर्यटक आउनलाई पुर्वाधार पनि चाहिदो रैछ’, उनले भने, ‘गाउँपालिकाले खोला थुनेर कृत्रिम ताल, भ्यू टावर र होमस्टे बनाउन जोड दिएको छ ।’
गाउँपालिकाको वडा नम्बर २ गजरकोट र वडा नम्बर ५ को चन्द्रकोटमा पनि भ्यू टावर बनाउन यसपाली बजेट विनियोजन गरेको छ । गजरकोट भ्यू टावरका लागी १० लाख रुपैयाँ र चन्द्रकोटलाई २० लाख रुपैयाँ बजेट छुट्याएको अध्यक्ष रानाले जानकारी दिए । उनले भने, ‘बहुबर्षीय योजना हो । अपुग भएको बजेट आगमी बर्ष पनि थपिन्छ ।’
घिरिङकोट भ्यू टावरमा काखैमा छ उवाथोक गाउँ । मगर समुदायको बसोबास रहेको उवाथोकका ८ घरमा यसै बर्षदेखी होमस्टे सञ्चालनमा ल्याईएको छ । भ्यू टावर बनेपछि होमस्टे आउने पर्यटक बढ्नेमा विश्वस्त छन् उवाथोक सामुदायिक होमस्टेका अध्यक्ष पुर्णसिंह थापा । कोरोना कहरकै बिचमा पनि भ्यू टावरमा पर्यटक आईरहेको उनी बताउँछन् । ‘यतिबेला कोरोनाको डरले होमस्टेमा पाहुना राखेका छैनौँ । भ्यू हेर्न आउने आउने आन्तारिक पर्यटकको चहलपहल बढेको देख्दा होमस्टेमा पनि पाहुना बढ्नेमा आशावादी छौँ’, उनले सुनाए ।
हुन त नेपालका अग्ला डाँडाकाडाँ आफैँमा प्राकृतिक भ्यू टावर हुन् । हिमालदेखी तराईसम्मका दृश्य एउटै थलोमा उभिएर नियाल्न सकिन्छ कतिपय स्थानबाट । पुर्वाधार अभावले ती अग्ला डाँडाबाट जतिसुकै मन लोभ्याउने दृश्य देखिएपनि पर्यटक उक्लन चाहादैनन् । जनप्रतिनिधी निर्वाचित भएर आएपछि तनहुँका स्थानिय सरकारको नजर अग्ला डाँडामा परेको छ । अग्ला डाँडामा गगनचुम्बी भ्यू टावर बनाई पर्यटक उकाल्न जोडबल गरिरहेका छन जनप्रतिनिधीले ।
दशैँपछि तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट भाईरल छ । फेसबुक र टिकटकमा मानहुँकोटको फोटो र भिडियो सर्वत्र भेटिन्छ । कोरोनाको डर भुलेर दमौली बजारलाई कुहिरोल ढपक्कै ढाकेर सुर्य उदाएको मस्त दृश्य नियाल्न दैनिक हजार बढी पर्यटक दमौलीबाट मानहुँकोटसम्मको उकालो चढछन् । प्राकृतिक रुपमै ‘दृश्यावलोकन विन्दु’ बनेको यो ठाउँमा अझ धेरै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न वडा कार्यालयले दृश्यावलोकन विन्दु निर्माण शुरु गरेको छ
४० लाखको लागत अनुमान गरिएकोमा ३६ लाख ५० हजार रुपैयाँमा दृश्यावलोकन विन्दु निर्माणको ठेक्का लागेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । निर्माणको ठेक्का माता वाराही कन्स्ट्रक्सन प्रालिले पाएको छ । दृश्यावलोकन विन्दु दुई तलाको हुने वडाध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘दृश्यावलोकन विन्दुको पहिलो तलामा कफी सप र माथिल्लो तलामा शिशाको घर हुनेछ ।’ अबको ६ महिनाभित्र दृश्यावलोकन विन्दु निर्माण सम्पन्न हुने उनले जनाए । पर्यटकिय गन्तव्यका रुपमा बिकसित मानहुँकोटको प्रचारका लागि दृश्यावलोकन विन्दुले थप टेवा पु¥याउने उनको भनाई छ ।
गत आर्थिक बर्ष व्यास नगरपालिका–६ गलेखामकोटमा ३ तले भ्यूटावर निर्माण गरिएको छ । धार्मिक पर्यटनको सम्भावना रहेको यहाँ पर्यटक भित्र्याउन भ्यूटावर निर्माण गरेको वडाध्यक्ष सुर्यभक्त भण्डारीले बताए । १६ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भ्यूटावरबाट २० जना बढीले दृश्यावलोकन गर्न सक्ने भण्डारीले बताए । भ्यू टावर बनेपछि गलेखामकोटमा आन्तरिक पर्यटक बढेको उनले सुनाए । ‘लकडाउनको बेलामा पनि आन्तरिक पर्यटक आइरहे’, उनले सुनाए । यहाँबाट कास्कीका तालहरु, माछापुच्छ«े, धवलागिरी, अन्नपूर्ण, मनास्लु लगायतका हिमालको दृश्य अवलोकन गर्न सकिने भण्डारीले जानकारी दिए । गलेखामकोट बाइसे चौबिसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको स्थान हो ।
भिमाद नगरपालिका– ९ पाइमी डाँडामा पनि गत बर्ष भ्यू टावर निर्माण गरिएको छ । एक हजार एक सय ५७ मिटर उचाईमा रहेको डाँडामा तीनतलाको भ्यू टावर बनाईएको हो । ३६ फिट अग्लो फलामे भ्यूटावर निर्माणमा आठ लाख रुपैयाँको लगानी भएको छ । नगरपालिकाले छ लाख ७५ हजार रुपैयाँ, स्थानियबासीले एक लाख २५ हजार रुपैयाँको जनश्रमदान चन्दा संकलन गरेको गरेको वडाध्यक्ष इमानबहादुर थापाले बताए ।





