सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बजेट र मेसिन पनि छ, तर सडक मर्मत भएनन्

बजेट र मेसिन पनि छ, तर सडक मर्मत भएनन्


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०७७, सोमबार

बागलुङ, २४ कात्तिक– जैमिनी नगरभित्रका सडकहरुको मर्मतका लागि लाखौं रुपैयाँ खर्चेर गतवर्ष नै जेसिभी मेसिन खरिद भएको छ । त्योबाहेक हरेक वडाका सडक तथा सार्वजनिक सम्पत्तिको मर्मत गर्नका लागि वडागत रुपमा नगरपालिकाले बजेटको व्यवस्था गर्ने गरेको छ । स्रोत साधनको कमस् नभए पनि समयमा काम नहुँदा बागलुङ जिल्लाको जैमिनीका सर्वसाधारण सधैं अप्ठ्यारो सडकको सामना गर्छन् ।
वर्षाको समयमा बाढीपहिरोले क्षतविक्षत बनाएका सडक समयमा मर्मत गर्न नसक्दा नगरबासीले सास्ती भोग्दै आएका छन् । नगरपालिकाहुँदै निर्माण भएको बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर कृषि सडक र कालीगण्डकी करिडोरको टाकुरी पालुङ्खोलाखण्ड मुख्य सडक हुन् । कृषि सडक ठाउँ ठाउँमा कालोपत्रेको काम चलिरहेकाले सवारी र सर्वसाधारणले सास्ती खेप्दै आएका छन्भने करिडोर निर्माणाधिन अवस्थामै छ ।
तीनै मुख्य सडकहुँदै गाउँ गाउँमा पुग्ने सडकहरु समयमा मर्मत हुन नसक्दा सर्वसाधारण समस्यामा परेको वडा नं. ७ का स्थानीय सागर गिरीले बताए । ‘वार्ड नं. ७ को कार्यालय, बिराउनेहुँदै कालीगण्डकी करिडोर छर्लुवा जोडिने ग्रामीण सडकखण्ड विस्तार गरेको वर्षौं बित्यो, तर सडकको मर्मत र स्तरोन्नति भने भएको छैन्’ गिरीले भने ‘पहिलो वर्ष हिउँदमा सवारी चलेपनि वर्खापछि सवारी आवातजावतमा कठिन बन्दै गयो, यो वर्ष त सवारीनै चल्दैनन् ।’
सडकहरु समयमा मर्मत नहुँदा स्थानीयले श्रम र समयको खर्च धेरै हुनेगरेको गुनासो गर्न थालेका छन् । सडक मर्मतका लागि हरेक वर्ष वजेट विनियोजन हुने गरेको भएपनि समयमा काम नहुने गरेको वडा नं. ७ का स्थानीय रमेश सार्थकले बताए । ‘गाउँमा कामको चटारो छ तर ओहोरदोहोर गर्ने सडकको अवस्था हेरिनसक्नु छ’ उनले भने ‘सडक बनाउँदा पैदलमार्ग माँसिए चाहिएको बेला गाडी चल्दैनन् ।’
सडक मर्मत नहुँदा बिरामी परेका बेला एम्बुलेन्स बोलाउन समेत कठिन हुने गरेको उनीहरुको गुनासो छ । नगरपालिकाले भने सडक मर्मतको काम भैरहेको जनाएको छ । ‘केही दिनमै गुनासो आएका सडक मर्मत भैसक्छन्’ प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले भने ‘एउटा जेसिवी सबैतिर डुलाउँदा समय लागेको हो ।’
जैमिनीले १३ वटा सडकलाई मुख्य सडक भनेको छ । वडा कार्यालयसम्म पुग्ने सडक मर्मतमा पहिलो प्राथमिकता रहेको उनले बताए । त्योबाहेक वडाभित्र निर्माण भएका सडकको तथ्यांकनै छैन् । पालिका मुकाम पुग्ने र वडा कार्यालयहरुसम्म पुग्ने सडकहरु समेत राम्रोसँग मर्मत नहुँदा जैमिनीको यात्रा सकसपूर्ण हुने गरेको यात्रुहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->