तनहुँ, २५ कात्तिक – दैनिक हजारौँ पर्यटक मानहुँकोट आउन थालेपछि व्यास नगर कार्यपालिकाको २४ सदस्यीय टिम पनि आईतबार मानहुँकोटको डाँडोमा उक्लियो । व्यास नगरपालिका–५ मा पर्ने मानहुँकोटको डाँडोमै १ सय ३ औँ कार्यपालिकाको बैठक बस्यो । कार्यालय बाहिर व्यास नगरको कार्यपालिका बैठक बसेको यो पहिलो रेकर्ड हो ।
पछिल्लो समय आन्तरिक पर्यटकको पहिलो रोजाई बनेको मानहुँकोटको पर्यटन प्रर्वद्धनमा थप टेवा पु¥याउन त्यहीँ बैठक बसेको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठ बताउँछन् । ‘मानहुँकोटले व्यास क्षेत्रको पर्यटनमा आशा जगाएको छ’, उनले भने, ‘अब विकाससंगै प्रर्वद्धनमा लाग्छौँ ।’
दशैँयता दैनिक हजार बढी पर्यटक मानहुँकोट पुग्ने गरेको छन् । गत शनिबार १५ हजार बढी पुगे । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको अवस्था मानहुँकोटमा यति धेरै भीड हुँदा जिल्लामा जोखिम बढेको टिकाटिप्पणी हुन थालेपछि नगरपालिकाले दिनमा ३ सय जनालाई प्रवेश अनुमति दिने भएको छ । ‘वडा कार्यलयमा अनिवार्य नाम दर्ता गरी स्वास्थ्य र सुरक्षाको मापदण्डलाई पालना गर्दै मानहुँकोटमा दृश्यावलोकनका लागि अनुमति दिइन्छ’, उनले भने ।
मानहुँकोटमा पर्यटकको ओईरो लागेपनि पुर्वाधारको अभाव देखिन्छ । शौचालय, प्रतिक्षालय, पिउने पानी, सवारी पार्किङ, सुरक्षा र सरसफाईको प्रबन्ध छैन । दमौलीको चापाघाटबाट ६ किलोमिटरको दुरीमा पर्ने मानहुँकोट जाने सडक संघिय सरकारको बजेटबाट कालोपत्रे हुँदैछ । तर, कोरोना कहरले काम ठप्प छ । मानहुँकोटमा बास बस्न चाहनेहरु होटल, होमस्टेको अभावमा दमौली बजारदेखी भाडामा ल्याएको टेन्टमा रात कटाउँछन् ।
मानहुँकोटलाई व्यवस्थित बनाएर विकास गर्न गुरुयोजना बनाउने निर्णय भएको सोही वडाका अध्यक्षसमेत नगर प्रवक्ता श्रेष्ठले बताए । ‘तत्कालै शौचालय निर्माण, खानेपानीको व्यवस्थापन र मानहुँकोटको मौलिकता संरक्षण हुनेगरी गुरुयोजना तयार पार्दैछौँ । त्यसका लागी २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ’, उनले भने ।
श्रेष्ठका अनुसार गुरुयोजना तयार गर्नलाई मानहुँकोटको जग्गा किनबेचमा रोक लगाईएको छ । सोमबारदेखी पुष मसान्तसम्म जग्गा किनबेचमा रोक लगाईएको हो । ‘पर्यटक बढ्न थालेपछि यहाँको जग्गा किनबेच बढेको छ । नगरपालिकाले गुरुयोजना बनाउँदैछ । जग्गा किनबेचले असर गर्ने ठानेर रोक लगाएका हौँ’, उनले भने ।
व्यास नगरपालिकामा जनप्रतिनिधी निर्वाचित भएर आएपछि पहिचान गरिएको गन्तव्य हो मानहुँकोट । यो वर्षको दशैँपछि दैनिक हजार बढी पर्यटक मानहुँकोट घुम्न आउने गरेका छन् । गत शनिबार १५ हजार बढी पर्यटकको भीडले मानहुँकोट भरिभराउ देखियो ।
दमौली बजारलाई कुहिरोले डम्मै ढाकेर सुर्योदय भएको दृश्यले पर्यटकलाई लोभ्याएको वडाध्यक्ष श्रेष्ठ बताउँछन् । ‘असोजदेखी फागुनसम्म मानहुँकोटमा यस्तो दृश्यपान गर्न सकिन्छ’, उनी थप्छन्, ‘दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षी वेदव्यासका पिता पराशर ऋषिले मत्स्यगन्धासँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको कथन छ ।’





