पोखरा, २६ कात्तिक – पर्यटन शब्दको पर्यायवाचीजस्तै भएर आउने नाम हो, पोखरा । तालैतालको सहरको पनि उपमा पाएको पोखरामा बाह्रैमास पर्यटक आइ रहन्छन् ।
तर, ९ महिना यता लेकसाइड सुनसानै छ । महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसले यो पर्यटकीय नगरिमा उति साह्रो पर्यटक आएनन् । ९ महिना अघिदेखि आन्तरिक, बाह्य दुबै खाले पर्यटक पोखरा आएका छैनन् ।
दशैंको छेकोमा प्याराग्लाइडिङ कम्पनीहरुले नयाँ प्याकेज ल्याएपछि केही हदसम्म पर्यटकहरु त आए । तर, सबै जना प्याराग्लाइडिङ मात्रै गर्नको लागि पोखरा आउने गरेको व्यवसायीहरु बताउँछन् ।
लामो समयको बन्दाबन्दीको चपेटामा परेर केही होटल तथा रेष्टुरेन्ट व्यवसायी पलायन हुने अवस्थामा पुगे त सयौंले रोजगारी गुमाउन पुगे । कामदार कटौती गरेर होटल, रेष्टुराँको तालासम्म खोले पनि खर्च धान्नै मुश्किल परेको व्यवसायी बताउँछन् ।
नगेन आर्ट लाउञ्ज बारका सञ्चालक नगेन सिँहले सबैले खोलेर राखेको हुनाले पनि तालासम्म खोलेर राखेको बताए । व्यापार ठप्प हुँदा भाडा तिरेर मात्रै बस्नु परेको भन्दै उनले गुनासो पोखे । ‘घाटामा गइरहेको छ । अरुले खोलेको हुनाले हामीले पनि खोलेर त राख्नुप¥यो’, उनले भने, ‘एउटा पनि ग्राहक आउन्नन् । ४ जना कामदारको काम एउटैले गर्नुपरेको छ ।’
सरकारी निर्णयअनुसार भीडभाड गर्न पनि नमिल्ने हुनाले पनि ग्राहकहरु नआउने उनले सुनाए । ‘लाउञ्जबारमा गीत गाउने हो हल्ला गर्ने हो । सरकारले भीड नगर्न भनेको छ),उनले भने ।
सिजनमा एक डेढ लाखको व्यापार भए पनि अहिले आफ्नै खल्तिबाट भाडा तिर्न परि रहेको उनले सुनाए । दैनिक २० हजार रुपैयाँका दरले व्यापार हुने बारमा एक रुपैयाँको पनि कारोबार नभएको उनी बताउँछन् । ‘आउने बाटो छैन । बत्ति बाल्नै प¥यो । ३० हजार बत्तिको खर्च आउँछ’,उनले भने, ‘भाडा छुट्टै तिर्नप¥यो । पानीको खर्च आउँछ । ग्राहक नआए पनि यस्सै राख्न त भएन ।’
यसअघि १० देखि ११ बजेसम्म बत्ति बल्ने लेकसाइडमा अहिले भने खर्च बढी उठ्ला भन्ने भयले ७÷८ बजे निभाउनु परेको उनले सुनाए । आन्तरिक हवाइ उडान सुरु भएपछि असोजबाट बार सञ्चालनमा ल्याए पनि ग्राहक नै नआउँदा बेच्न पाए हुन्थ्यो भन्ने मानशिकतामा पुगेको उनले बताए ।
लेकसाइडकै चल्तिको रेष्टुरेन्ट मध्येको एक बिजिबी क्याफेका सञ्चालक ज्याक तामाङ एउटै टेबलबाट सबै खर्च उठ्ने गरे पनि अहिले ताला मात्रै खोलेर बस्नु परेको बताउँछन् । ग्राहक राख्नै मुश्किल पर्ने क्याफे ९ महिनादेखि सुनसान बनेको उनले सुनाए । ‘अहिले त सबै सुनसान छ । सबैले खोलेका हुनाले खोल्न त प¥यो । स्टाफ पनि केही मात्र राखेका छौंँ । ग्राहक नै नआएपछि बिदामा पठाएका हौँ’, उनले भने ।
यो समय कतिञ्जेलसम्म लम्बिने हो पत्तै नभएको हुनाले पनि व्यवसायीहरु अन्यौलमा परि रहेको उनले सुनाए । बिजिबी क्याफेले नै केही समयअघि मात्र बिजिबी रिसोर्ट पनि लेकसाइडमा सञ्चालनमा ल्याएको थियो । अहिले बुकिङ नआउँदा बन्द गरेर राख्नुपरेको उनले सुनाए । महामारीको दर दिनहूँ बढ्दोमा मात्रामा रहेकाले पनि अन्यौल कायमै रहेको उनको मत छ ।
लेकसाइडमा अधिकांश होटल, रेष्टुरन्ट बन्द छन् । खुलेका होटल तथा रेष्टुरेन्टले पनि बुकिङ लिइरहेको छैनन् । होटल बेस्ट इनका सञ्चालक सन्तोष काफ्ले होटलको ताला खोले पनि व्यवसायीहरु बुकिङ लिन डराएको रहेको बताउँछन् । ‘सानासाना बच्चा छन् । संक्रमण बढिरहेको छ । मैले नै आएका बुकिङ लिन सकि रहेको छैन’, उनले भने ।
संक्रमणको दर कहिलेसम्म बढ्छ यकिन नभई सकेको अवस्थामा व्यवसायीहरु पर्ख र हेरको अवस्थामा छन् । भएका पर्यटकीय गन्तव्य पनि बन्द अवस्थामा रहेको हुनाले पनि पर्यटकहरु अपेक्षित रुपमा नआएको व्यवसायीहरु बताउँछन् ।
बन्दाबन्दीकै बिचमा करिब ३० प्रतिशत हाराहारिमा होटल व्यवसायी पलायन भइसकेको तथ्यांक पश्चिमाञ्चल होटल संघले निकालेको छ । यही अवस्था रही रहे यो तथ्यांक पनि बढ्ने सक्ने अवस्था आउन सक्छ । होलट संघका अध्यक्ष विकल तुलाचनका अनुसार बन्दाबन्दीपछि ३० प्रतिशत व्यवसायी पलायन भइसकेका छन् ।
लेकसाइड सुनसान पामेमा भीडभाड
सधै गुलजार रहने लेकसाइड सुनसान बने पनि पामे क्षेत्रमा भने पर्यटकको चहल पहल बढेको छ । पोखरा घुम्न आउने पर्यटकहरु धेरैजसो पामे पुग्न थालेका छन् ।
अल्फान्जो रिसोर्टका सञ्चालक सुवास भट्टराईका अनुसार बिदाका दिनमा ५ देखि ६ सय पर्यटक पामे आउने गरेको उनले सुनाए । ‘अरु दिनमा भन्दा शुक्रबार र शनिबार मान्छे धेरै आउँछन्’,उनले भने, ‘हाम्रोमा कोठा पनि अलि बढी नै छ । त्यही भएर पनि होला बुकिङ प्याक नै छ ।’ लेकसाइड क्षेत्र सुनसान बनी रहँदा पामेमा भने रेष्टुरेन्टहरु थपिने क्रम पनि बढ्न थालेको उनले सुनाए । भएका सबै जसो होटल, रेष्टुरेन्टमा पनि बुकिङ प्याक रहेको उनले जानकारी दिए ।





