बागलुङ, २८ कात्तिक – राष्ट्रिय सहकारी बैंकले बागलुङका दुई सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई शुक्रवार एक कार्यक्रमका बीच पुरस्कृत गरेको हो । बैंकको बागलुङ शाखामा उत्कृष्ट कारोबार गर्ने प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र नियमित कारोबार गर्ने लखन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरेको हो ।
प्रगति बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णप्रसाद शर्मा (कुमार) र प्रवन्धक मुना शर्मा तथा लखन सहकारीका अध्यक्ष खड्क बहादुर पुन र प्रवन्धक होम बहादुर थापालाई प्रतिनिधि सभाका सदस्य मनकुमारी जिसी केसी र राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी. (अञ्जु)ले सम्मानपत्र सहित पुरस्कृत गर्नु भएको थियो ।
सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश र शाखास्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६औ वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारकालागि छनोट भएका संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बैंकले जनाएको छ ।





