लमजुङ, ३० कात्तिक – यस बेला मर्स्याङ्दी गाउँपालिका–३ हर्सिङडाँडामा भेडीगोठ बस्छ । हिउँको चिसो छल्न भन्दै बेंसी झार्न भेडीगोठलाई हर्सिङडाँडामा ल्याइन्छ । त्यही गोठ रहेको दुबोको फाँटमा गत सोमबार एकाएक हुल जम्मा भए । कोभिड–१९ का बीच जम्मा भएका उनीहरूले प्याराग्लाइडिङ उडाउने प्रयास गरे । यसअघि पोखराको सराङकोटमा प्याराग्लाइडिङ गरेका र रमाएकाहरूसमेत हर्सिङडाँडामा जम्मा भए । उनीहरू करिब २ हजार ३ सय मिटर उचाइको हर्सिङडाँडाबाट मनास्लु, बौद्ध, डा. हर्क पिकलाई चुम्ने गरी प्याराग्लाइडिङ गर्दै थिए ।
‘हामी हर्सिङडाँडालाई पर्यटकीय गन्तव्य बनाउने योजनमा छौं । यो ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण छ,’ गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, ‘हामीले पोखराबाट बोलाएका पाइलटले सफल उडान गरे । उडानमा केही स्थानीयलाई पनि समावेश गरे ।’ उनका अनुसार हर्सिङडाँडाबाट मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेको कुवापानीमा प्याराग्लाइडिङ अवतरण गरिएको थियो ।
मर्स्याङ्दी–३ का वडाध्यक्ष प्रेमबहादुर बस्नेतका अनुसार पोखरास्थित ओपन स्काई प्याराग्लाइडिङ प्रालिको समन्वयमा प्याराग्लाइडिङ परीक्षण गरिएको थियो । प्याराग्लाइडरले देउरालीडाँडा, सबुडाँडा, बेंसीसहर, सुन्दरबजार, दोर्दी, राइनास, क्व्होलासोंथर, पोखरा, बन्दीपुरसम्मका दृश्यावलोकन गरेका छन् । गाउँपालिका उपाध्यक्ष होमबहादुर विकका अनुसार दुईवटा प्याराग्लाइडिङ उडाइएको थियो । ओपन स्काईका पाइलट नुरेन रानाले गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलाई लिएर र पाइलट सुमन मगर एक्लैले प्याराग्लाइडिङ उडाएका थिए । ‘हर्सिङडाँडाको आकाशमा उडिरहँदा सरदार भक्ति थापाले गाईबस्तु चराउने ठाउँको आकाशबाट दृश्यावलोकन गरियो । यो पर्यटकीय अध्ययन केन्द्र बन्नेछ भनी आकाशबाटै निर्क्योल गरें,’ उनले भने ।
विश्वको उत्कृष्ट १० मा पर्न सफल चक्रीय अन्नपूर्ण पदमार्गको वैकल्पिक पदमार्ग सिउरुङ र ढगैंक्षेत्रमा पर्ने हर्सिङडाँडामा धर्मशाला र खानेपानी निर्माण गरिएको छ । पाइलट रानाले हर्सिङडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण भएको र नियमित प्याराग्लाइडिङ उडान भर्न सकिने बताए । ‘हामी सराङकोटबाट प्याराग्लाइडिङ उडाएर पोखरा हेर्छौं । हर्सिङडाँडाको उडानले हिमाल हेर्न सकिँदो रहेछ,’ उनले भने ।
स्थानीयका अनुसार अहिले हर्सिङडाँडामा दैनिक ४०/५० जनासम्म आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । मर्स्याङ्दी गाउँपालिका–३ खुदीबजारबाट साढे १२ किलोमिटर दुरीमा पर्ने हर्सिङडाँडामा भक्ति थापाले छेलो हालेको ठाउँ छ । उनको गोठ राखेको ठाउँ, गोठमा पकाएर खाने गरेको ओदानलगायत सामग्री पनि छन् । लमजुङमा यसअघि गाउँसहर डाँडा, पुमा डाँडा, भाचोक डाँडा, राइनासकोट, तुर्लुङकोटलगायत स्थानबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ।





