सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

रायडाँडाको रायोको साग : मुल्य नपाउँदा उत्पादननै रोकियो

रायडाँडाको रायोको साग : मुल्य नपाउँदा उत्पादननै रोकियो


  • ढोरपाटन संबाददाता
  • कार्तिक ३० २०७७, आइतबार
फाईल तस्विर

बागलुङ, ३० कात्तिक– ठुला अनि मुलायम देखिने पात । देख्दै खाउँ खाउँ लाग्ने रायोको साग बागलुङ बजारमा देखियो भने धेरैले सोध्थे कहाँको साग हो ?
सदरमुकाम बागलुङ बजारदेखि केहि पर रहेको बागलुङ नगरपालिका–११ रायडाँडामा फल्ने साग बागलुङ बजारका तरकारी पसलहरुमा सजिँदा मुहारनै फेरिए जस्तै हुन्थ्यो । अंगालोमा बोक्नु पर्नेगरी फल्ने साग किसानले डोकोभरि बोकेर ल्याउँथे । बजारमा रायडाँडामा फलेको साग निकै रुचाइन्थ्यो । तर यो वर्ष रायडाँडामा रायोको साग फलेन् ।
किसानले रायोको साग फल्ने बारीमा कोदो लगाए । कोदोको उत्पादन लिएपछि गहुँ लगाउने तयारीमा किसानहरु छन् । वर्षौं पहिलेदेखि रायडाँडामा रायोको साग खेती हुन्थ्यो । पछिल्ला केही वर्षयता यहाँका झण्डै २० परिवारले रायोको सागलाई आम्दानीको राम्रो स्रोत बनाएका थिए । रायो फल्न छोडेर यहाँका किसानले खेती नगरेका भने होईनन् । उपभोक्ताले निकै रुचाउने सागको मुल्य बिचौलियाका कारण निकै कम भएपछि यहाँका किसानले यो वर्ष साग नलगाएका हुन् ।
‘अघिल्लो दिन ३५ रुपैयाँ किलोमा बेचेको साग भोलिपल्ट पठाउँदा व्यापारीले दश रुपैयाँ बनाईदिए, उनीहरुले प्रसस्तै नाफा खाने हाम्रो मालको मुल्य परेन’ लामो समयदेखि रायो सागको व्यवसायीक खेती गर्दै आएका दलबहादुर थापाले भने ‘बिचौलिया मोटाउन किन दुःख गर्नु भनेर यसवर्ष सबैको सल्लाहमा साग लगाएनौं ।’
दलबहादुरले मात्रै वर्षमा ८० क्विन्टलसम्म साग बिक्री गर्दै आएका थिए । उनीजस्तै रायो फलाउने रायडाँडामा २० परिवारभन्दा धेरै छन् । गाउँका अन्य केहीले व्यवसायीक नभएपनि घर खर्च चलाउने गरी साग फलाउँथे । ‘यहाँबाट ढुवानी गरेर बजार पु¥याउन किलोको चार रुपैयाँ भन्छन्’ थापाले भने ‘बल र मलको मुल्य खोई ? बरु कोदो लगाएर खान त पुग्छ ।’
यो वर्ष बजारका बिचौलियालाई चुनौती दिनकै लागि किसानहरुको सल्लाहमा साग नलगाएको उनले बताए । किसानहरुले सहकारी बनाएर बजारमा आफ्नै बिक्री केन्द्र र चिस्यान केन्द्रको तयारीसमेत गरेका छन् । ‘चिस्यान केन्द्र भयो भने अर्को वर्षबाट लगाउने हो’ उनले भने ‘मुल्य नपाएसम्म बजार नपठाउने भन्ने हामी किसानको सल्लाह छ ।’
रायडाँडामा पानीका स्रोत प्रशस्त रहेको र रायोको सागका लागि उपयुक्त माटो रहेकाले उत्पादन राम्रो हुने गरेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतम बताउँछन् । ‘किसानको समस्या समाधानका लागि चाहिने चिस्यान केन्द्र माग गरि संघ र प्रदेशमा पठाएका छौं, वडाको पहुँचमा भएको बिषय भएन’ गौतमले भने ‘हामीले सहज वातावरण बनाउनका लागि सहकार्रीलाई परिचालन गर्नेछौं ।’
रायडाँडाका किसान समाबेश हुनेगरी जैविक साना किसान कृषि सहकारी गठन गरेर संकलन, बिक्री केन्द्र र उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने काम भैरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->