बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पर्यटक तान्दै काहूँडाँडा, बन्दै विशाल बुद्ध मण्डला

पर्यटक तान्दै काहूँडाँडा, बन्दै विशाल बुद्ध मण्डला


  • श्याम रानामगर
  • मंसिर ३ २०७७, बुधबार
काहूँडाँडामा रहेको धरहरा । जहाँबाट पोखरा र हिमाल सँगै हेर्न सकिन्छ । तस्वीर : श्याम रानामगर/ढोरपाटन

पोखरा, ३ मंसिर – न भीडभाडमा जान मिल्ने । न त साथीभाई भेट्न नै मिल्ने । जहाँ गए पनि डराउनुपर्ने अवस्था बनेको छ, पोखरामा । केही दिनदेखि दिनहुँ सयौंको संख्यामा संक्रमित थपिएको विवरण पनि आइरहेको छ ।
यसै संक्रमित, उसै संक्रमित ! मन बहलाउनकै लागि काहूँडाँडा उक्लेका मनोजले लामो श्वास फेरे । घरभित्रै गुम्सिएर बस्नुपर्दा उकुसमुकुस भएका मनोज परिवार बोकेर मंगलबार काहूँ डाँडा उक्लिएका थिए । ‘घरदेखि नजिक पनि प¥यो । घरभित्रै बस्दाबस्दा अलि फ्रेस भइन्छ कि भनेर परिवार सबैलाई लिएर आएको’, मनोजले सुनाए ।
मनोज जस्तै मन चंगा हुन चाउथेकी अमृता रेग्मी पनि साथीहरु सँगै काहूँ पुगेकी थिइन् । नजिकै भएर पनि वर्षदिन पछि बल्ल आएकी हुन् रे, उनी । अघिल्लो पटक आउनुभन्दा यो पटक आउँदा काहूँ विशेष लागेको उनले सुनाइन् ।
सिंगै पोखरालाई नजिकबाट हेर्न पनि पाइने । केही वर्ष अघिसम्म राम्रो सम्भाव्यता भए पनि उपेक्षामा परेको गुनासो यहाँका स्थानीयको सुनिन्थ्यो ।
रिफ्रेस हुनकै लागि काहूँ उक्लिनेको अहिले घुँइचो नै छ । काहूँडाँडामै अवस्थित ‘काहूँ धरहरा’ चैतमा लकडाउन जारी भएसँगै बन्द छ । धरहरा चढेर पोखरा नियाल्न नपाए पनि यहाँ पुग्नेहरुको संख्यामा कमी आएको छैन ।
‘चैतमा लकडाउन भएपछि प्रहरीहरु नै आएर धरहरामा प्रवेश निषेध गरेका छौं’, काहूँकोट देउराली मन्दिर तथा धरहरा संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले सुनाए, ‘पोहोर साल त २५ हजार बढी टिकट बेचेका थियौं । अहिले त कमाई नै छैन । चैत देखि धरहरा बन्द छ ।’ धरहरा बन्द रहे पनि चैत यता १० हजार बढी पर्यटक काहूँ पुगेको हुन सक्ने उनको अनुमान छ । ‘पहिला–पहिला टिकट बेचेको आधारमा कति गए भन्ने थाहा हुन्थ्यो । अहिले सबै बन्द छ, अहिले कति गए भन्ने केही तथ्यांक पनि राखेका छैनौैं’, उनले भने, ‘८, १० हजार त लकडाउनपछि आएका होलान् ।’
लकडाउनअघि दिउँसोमा मात्र पर्यटक पुग्ने गरे पनि अहिले रातको समयमा पनि पर्यटक पुग्ने गरेको उनले सुनाए । अनुमान भन्दा यो आँकडा बढ्न सक्ने उनको अनुमान छ । ०६२ मा पूननिर्माणपछि काहूँ घोताने परिवारले संरक्षण गर्दै आएकोमा २०७१ सालमा समिति गठन गरेर संरक्षण हुँदै आएको छ । अहिले काहूँमा शौचालय निर्माण र थप व्यवस्थापनका काम हुँदै छ । लकडाउनको कारण काम केहीपछि धकेलिए पनि अन्तिम चरणमा पुगेको अध्यक्ष गुरुङले सुनाए । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको २५ लाख रुपैयाँ र ४ लाख ४० हजार जनश्रमदानबाट अहिले मन्दिर र धरहरा व्यवस्थित पार्ने काम भइरहेको छ ।

काहूँडाँडामा बन्दै गरेको बुद्ध मण्डलाको प्रारम्भिक नक्सा ।

काहूँमा विशाल बुद्ध मण्डला बन्दै
काहूँ डाडाँमा थप अर्को पर्यटकीय गन्तव्य पनि थपिदै छ । ५ करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको भिमकाय बुद्ध मण्डला काहूँ डाँडामा बन्ने छ ।
यो सँगै काहूँमा पर्यटकको आकर्षण बढ्ने अनुमान गरिएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका साथै विभिन्न दातृ निकायबाट प्राप्त सहयोगबाट उक्त बुद्ध मण्डला बन्दै छ ।
काहँमा बन्दै गरेको यो विशाल बुद्ध मण्डला पञ्चवर्षीय आयोजना हो । प्रदेश सरकारले गएका दुई आर्थिक वर्षमा २०, २० लाखका दरले ४० लाख रुपैयाँ अनुदान दिइसकेको छ । ‘२० प्रतिशत आयोजना सञ्चालन गर्ने संस्थाको अरु बाँकी २० लाख प्रदेश सरकारबाट अनुदानबाट रिटेनिङ वालको काम भएको छ’, धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका सदस्य प्रेम लामाले भने, ‘२५ लाख रुपैयाँको अघिल्लो वर्ष काम भएको थियो ।’ यो वर्ष प्रदेश सरकारबाट २५ लाख र पोखरा महानगरपालिकाबाट साझेदारीमा ३२ लाख रुपैयाँ विनियोजन भएको उनले सुनाए ।
लुम्बिनीपछि बौद्ध धर्मावलम्बिको मुख्य आकर्षणको केन्द्रबिन्दु नेपालमा नभएको हुनाले पनि थप अर्को गन्तव्य विस्तार गर्ने योजनाअनुसार यो काम अघि सारिएको उनले सुनाए । मण्डलामा ५६ फिट अग्लो बुद्धको मूर्ति स्थापना गर्ने गुरुयोजना निर्माण समितिको छ । यद्यपि, नीर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कारणले सो मूर्तिको उचाई कम पनि हुन सक्ने छ । ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रय विमानस्थलको एउटा वे यहीबाट पनि पर्ने भएको हुनाले के गर्ने भन्ने विषयमा विमानस्थलसँग समन्वय हुँदैछ’, उनले भने, ‘मूर्तिको उचाईले केही बाधा पु¥याएन भने ५६ फिट अग्लो नै मूर्ति स्थापना गरिएला । अहिले छलफल भई रहेको छ । त्यसैले गर्दा पनि काममा ढिलाई भएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->