बागलुङ, ३ मंसिर– पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्केका जैमिनी नगरपालिका–५ बिनामारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउँछन् । विदेश जानुअघि देशमै सिकेको सिपले उनलाई काममा सघाएको छ, कोरियामा कमाएको पैसाले बुलेरो जोड्यो ।
पाँच वर्षे करार अवधि भ्याएर घर फर्किएका उनी फेरी विदेश फर्किन चाहेनन् । अहिले उनले यातायता व्यवसायमा हात हालेका छन् । उनले यातायात व्यवसायमा लगानीको सोँच बनाउँदा उनका दाजु गोविन्द पौडेल किराना व्यवसाय गर्ने सोँच बनाए, परिवार सबैको व्यवसायमा संलग्नता हुने छभने केही सिप भएका युवाले रोजगारी पाउने छन् ।
जैमिनीकै राङखानीका बोम बहादुर बिकले विदेशमा कमाएको पैसा फर्निचर उद्योगमा लगानी गरेका छन् । विभिन्न देश गरि लामो समय विदेश बसेका बिकले राङखानीकै व्याडथलामा फर्निचर उद्योग सञ्चालनमा ल्याएका हुन् । मलेसिया, साउदीदेखि कोरियामा मात्र १० वर्ष बिताउँदा नमरेको पैसा कमाउने धित मार्न उनले गाउँमै लगानी गरेका हुन् ।
विदेशमा कमाएको धेरथोर पैसा साना व्यवसायमा लगानी गर्दा निरन्तर आम्दानी र अन्यलाई रोजगारीसमेत हुने उनको बुझाई छ । उनको उद्योगमा पलङ, कुर्ची, टेबल, झ्याल, ढोकालगायतका काठका सामग्रीहरु निर्माण गरिन्छ । जसका कारण उनले बाहिरी बजारमा जाने गाउँको पैसा गाउँमै रोकिएको दाबी गर्छन् । उद्योगमा ५० लाख रुपैयाँ लगानी गरेको बिकले बताए ।
‘धेरै विदेश धाईयो अलिअलि कमाई भयो, विदेशको कमाई भलबाढी हो धेरै टिक्दैन्’ बिक भन्छन् ‘निरन्तर आम्दानीको लागि देशमै केही गर्नैपर्छ ।’ लगानी नगरी प्रतिफल नआउने भन्दै बिकले कमाएको पैसा यत्तिकै राख्दा कुनै फाईदा नहुने बताए । बिकको फर्निचरमा उनको परिवार र केही गाउँका युवाले समेत काम गर्छन् ।
‘मैले ४०÷५० लाख लगानी गर्दा घरपरिवार र छिमेकीलाई समेत काम पुगेको छ’ उनी भन्छन् ‘काम भए कमाई हुन्छ, कमाई भए खर्च पुग्छ ।’ उनले विदेशका मानिसहरुको व्यवसायप्रतिको मोह देखेर आफुले पनि सानो व्यवसाय थालेको बताए ।
जैमिनी नगरपालिका–१० राङखानीका यम पुन दुवईबाट फर्केका हुन् । दुवैमा काम र दाम धेरै राम्रो थियो तर उनी ११ वर्षको दुवै बसाई सकेर गाउँघरमै व्यवसायमा लागेका छन् । उनले दुवैमा कमाएको पैसा लगानी गरेर कुश्मीशेरा बजारमा ‘जैमिनी कृषि तथा पशुपंक्षी फर्म एण्ड रिसर्च सेन्टर तथा ब्लक उद्योग’ सञ्चालनमा ल्याएका छन् ।
विदेशको सिकाई र भोगाईलाई साना व्यवसायमा लगाउने योजना बनाएका पुनले व्लक उत्पादनदेखि पंक्षीको फार्मसम्मका लागि ५० लाख रुपैयाँ लगानी गरेका छन् । ‘ठुलो योजना बनाएर कामको थालनी गरेका छौँ’ पुन भन्छन्– ‘ब्लक उद्योगबाट सुरु गरेका छौँ, उद्योगबाट दैनिक ५ सय ब्लक निर्माण हुनेछ, त्यहाँ ३ जना व्यक्तिले रोजगारी पाउछन् ।’
उनीहरुको उद्योगअन्र्तगत बंगुरपालन सुरु भएको छ । पाँच सय बंगुर पाल्ने योजना छ । त्यहाँँ बंगुरपालनसँगै कुखुरा, टर्की, बट्टाई, कडकनाथ र माछापालन गर्ने लक्ष्यसाथ अहिले काम सुरु गरिएको छ । ‘आफ्नै ठाउँमा गरे हुन्छ भन्ने सन्देश दिने इच्छा छ’ पुन भन्छन् ‘विदेशमा दुःखले कमाएको स्वदेशमा लगानी गरेर रोजगारी सिर्जना गर्ने लक्ष हो ।’
उल्लेखित तीन युवाका अलवा जैमिनीमा विदेशमा कमाएर गाउँघरमा लगानी गर्ने युवाहरुको उल्लेख्य संख्या छ । पशुपालन, व्यापार, व्यवसायीक केराखेती, माहुरीपालन तथा साना उद्योगहरुको सञ्चालनमा युवाहरुले सहभागितात्मक लगानी बढाएका छन् । युवाको सक्रियता अनुसारको साथ स्थानीय सरकारले नदिएको युवाहरुको गुनासो छ ।





