बागलुङ, ३ मंसिर– राष्ट्रिय गौरवका आयोजनाको अनुगमन तथा निरीक्षणका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहितको टोली बुधबार बागलुङ आएको छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको अनुगमन तथा निरीक्षणका लागि उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलसहितको टोली बागलुङ आएको हो ।
टोलीले कास्कीको हेम्जादेखि बागलुङको बुर्तिबाङसम्मको मध्यपहाडी लोकमार्गको अनुगमन निरीक्षण गर्नेछ । मालढुंगामा कालीगण्डकी करिडोरको समेत अनुगमन निरीक्षण हुने उपाध्यक्षका प्रेस सल्लाहकार रामेश्वर कार्कीले बताए ।
बुधबार बिहानै बागलुङ आएको टोलीले बागलुङ कालिका मन्दिरको दर्शन गरेको छ । मन्दिरको दर्शनपछि मध्यपहाडी लोकमार्गको अनुगमन गर्दै काठेखोला गाउँपालिका–५ बिहुँमा केही समयको छलफलपछि टोली बुधबार साँझ बुर्तिबाङ पुग्ने छ ।
टोलीमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रमुखसमेत सहभागि रहेकाले अनुगमन निरीक्षणपछि उपाध्यक्ष कँडेलले आवश्यक निर्देशनसमेत दिनेछन् । टोलीमा प्रधानमन्त्रीका विकास तथा पूर्वाधार विज्ञ सल्लाहकार गजेन्द्र थपलिया, राष्ट्रिय योजना आयोगका अन्य सदस्य तथा कर्मचारीको सहभागिता छ ।
राष्ट्रिय गौरवका आयोजना निर्माणका क्रममा स्थानीय स्तरमा उत्पन्न समस्या र समाधानको उपायबारे अध्ययन गर्न र हालसम्मको कामको प्रगति विवरण बुझ्न यो भ्रमण महत्वपूर्ण रहेको कँडेलले बताए । टोलीले योजना आयोगमार्फत स्थानीय तहमा साझेदारीमा चलेका विशेष अनुदान र समपुरक अनुदानका कार्यक्रमको समेत अनुगमन निरीक्षण गर्नेछ ।





