पोखरा, ४ मंसिर– कोरोना कहरकै बीच आएको दशैं र तिहारले व्यवसायीलाई खासै उत्साहित बनाएन । किनकि, व्यापार सोचेजस्तो थिएन । एक त पसल खोल्नै डर, अर्कोतिर ग्राहकको चाप पनि कम । तर, लामो लकडाउन र निषेधाज्ञापछि डरकै बीच पोखरामा पसलहरु खुले । चाडबाडकै छेकोमा यता पसल खुले उता सडकमा हुने अनधिकृत व्यापार पनि खुल्न पुग्यो । ‘पोके व्यवसायी’हरुले सडकमै पसल थापे पनि प्रशासनले कुनै प्रतिक्रिया जनाएन ।अरुबेला फुटपाथमा हुने अनधिकृत व्यापार हटाउने नगरप्रहरीको सक्रियता पनि देखिएन । तिहारमा दाजुभाईलाई दिइने मसला,टोपी, जाडोका कपडादेखि फलफूल र झिलिमिली बत्तीसम्म सडकमै पाइयो । तिहारतिर देखिएको फुटपाथको व्यापार अझै कम भएको छैन ।
फुटपाथमा अनधिकृत रुपले व्यापार/व्यवसाय चम्केपछि राज्यलाई कर तिरेर व्यापार गर्नेहरु चाहिँ मर्कामै परे । सडकमा व्यापार बढेपछि बुद्ध विशाल बजार व्यापारिक एसोसियनकातर्फबाट पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य केशवबहादुर खत्रीले असन्तुष्टि व्यक्त गर्दै फेसबुकमा लेखे,‘ कहाँ छन् महानगर र वडा सरकारहरू ? हामी व्यवसायीहरुलाई आवश्यक पर्दा बहाल कर तिर,व्यवसाय कर तिर इन्ची– इन्ची नापेर भन्छ तर फुटपाथमा यत्रोविधि हुँदा मुकदर्शक बन्छ । अब सम्पुूर्ण कर यिनैसँग असुल । हामीलाइ बाध्य पार्ने भए फुटपाथ सफा पार । व्यवसाय गरेर तिर्नसक्ने अवस्थामा पु¥याऊ ।’
फुटपाथ पैदलयात्रीको लागि बनेको हो । तर, पछिल्लो समयमा फुटपाथमा हिँड्न सजिलो छैन । त्यो पोके व्यापारीको कब्जामा गइसकेको छ । कुनैबेला फुटपाथमा व्यापार गर्नेहरुले सडक नै किनबेच गर्थे । महेन्द्रपुल,चिप्लेढुंगादेखि पृथ्वीचोकसम्मका मूख्य ठाउँहरुमा मान्छे हिँड्ने बाटोमा बजार लाग्थ्यो । ‘अहिले त्यस्तै देखिएको छ,यसले कर तिर्ने व्यवसायीहरुलाई ठूलो मर्का परेको छ’, खत्रीले भने,‘ महानगरले तत्काल यस्ता गतिविधि नरोक्ने हो भने हामीले पनि कर तिर्न सक्दैनौं भन्ने अवस्था आउँछ ।’
यता, महानगरका प्रवक्ता धनबहादुर नेपालीले फुटपाथमा व्यापार÷व्यवसाय गर्नु गैरकानूनी भएको बताउँदै अनधिकृत रुपले हुने व्यवसाय बन्द गराइने बताए । चाडबाड र कोरोना कहरले महानगरमा जनशक्ति कम भएकाले अनुगमन कम भएको बताउँदै उनले सडकमा हुने अनधिकृत कामलाई तत्काल बन्द गरिने प्रतिवद्धता व्यक्त गरे । फुटपाथमा हुने अनधिकृत व्यवसाय रोक्न महानगरले समय–समयमा सामान जफत गर्ने र जरिवाना तिराउने गर्दै आएको छ । महानगरले फुटपाथमा व्यापार गर्नेहरु पक्राउ परे न्यूनतम् ५ सय रुपैयाँ जरिवाना लिँदै आएको छ । फुटपाथमा हुने व्यवसाय हटाउने क्रममा महानगरले कुनैबेला दृृष्टिविहीनलाई दुव्र्यवहार गरेको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्रीसम्म गुनासो पनि पुग्यो । हेल्लो सिएम कार्यक्रममा एक दृष्टिविहीनले भनेका थिए,‘ म एक दृष्टिविहीन हुँ । बाटोमा बसेर सामान बेच्न महानगरले दिँदैछ, घर, घरमा गएर सामान बिक्री गर्न गाह्रो हुन्छ । चिप्लेढुंगा र पृथ्वीचोकमा बाटोको किनारमा बसेर हामी दृष्टिविहीनहरुले सामान बेच्न पाउनुप¥यो ।’मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले महानगरसँग त्यो विषयमा जानकारी पनि माग्यो । जानकारीको उत्तरमा महानगरले भनेको थियो,‘ ‘माया र कानून एकैसाथ हुँदैन । ’ आर्थिक अवस्था कम हुनेहरुले लुकीछिपी फुटपाथमा तरकारी, फलफूल बेच्न भने छाडेका छैनन् । उनीहरु नगर प्रहरी आउँदा डोको लुकाउँछन् । कतिपय अवस्थामा पक्राउ पर्छन् । कतिपय सटर लिएर बसेका व्यवसायीहरुले नै आफ्नो पसल पुछिदिने, काममा सघाइदिने सर्तमा पसल छेउ त्यस्ता साना व्यवसायीलाई ठाउँ पनि दिने गर्छन् । तिहारतिर भने फुटपाथमा कपडा नै बेचियो । फु्टपाथ विस्थापन भएपछि खुलेका सस्तो बजारमा सरेका साना व्यवसायीहरु पनि फुटपाथमा हुने व्यवसायबाट पीडित बने । कुनैबेला पोखराको सडक नै साना व्यवसायीले कब्जा गरेपछि पोखरामहानरपालिका, पोखरा उद्योग वाणिज्य संघ,जिल्ला प्रशासन तथा प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले फुटपाथ हटाउन अभियान नै चलाएको थियो । सो अभियानको क्रममा पटक–पटक फुटपाथका व्यवसायीहरुसँग वार्ता भएको थियो भने उनीहरुको व्यवस्थापनको जिम्मा पनि महानगरले लिएको थियो । सोही सहमतिपछि पोखराको पृथ्वीचोक, चिप्लेढुंगालगायतका क्षेत्रमा सस्तो बजार खुलेका थिए । फुटपाथ हटाउने अभियानको नेतृत्व गरेका पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष संजिवबहादुर कोइराला भन्छन्,‘ फुटपाथ पैदलयात्री र बाटो गाडी गुडाउन बनेको हो, असहाय, निमुखाको संरक्षण राज्यले गर्नुपर्छ तर उनीहरुलाई सडकमा व्यापार गर्न दिनु हुँदैन,यसले कर तिर्ने व्यवसायीलाई असर गर्ने त छँदैछ, सहरको ट्राफिक व्यवस्थापन तथा सुन्दरता अस्तव्यस्त बनाउँछ, यो गैरकानूनी काम हो ।’





