सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

तमानखोलामा आलु उत्पादन घट्यो

तमानखोलामा आलु उत्पादन घट्यो

उत्पादन घट्दा अघिल्लो बर्ष ५० रुपैयाँ प्रतिकेजीमा पाइने आलु यो बर्ष १ सय रुपैयाँ पर्न थालेको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०७७, बिहिबार
फाईल तस्विर

बागलुङ, ४ मंसिर– तमानखोला गाउँपालिका वडा नं. ४ का जगबहादुर छन्त्यालले अघिल्लो बर्ष ५० मुरी आलु फलाएका थिए । यो बर्ष उनको बारीमा आधा आलु घट्यो । २५ मुरी आलु पु¥याउन हम्मे परेको उनले बताए ।
चैत देखि लगातार बर्षातले असार साउनमा आलु खन्दा बारीमै कुहिएको थियो । अघिल्लो बर्ष म्याग्दी र बागलुङका बजारमा बेचेर घरखर्च चलाएका छन्त्यालले यो बर्ष नाफा कमाउन नसकेको बताए । उनले प्रति धार्नी (साँढे २ केजी) को एक सयमा बेच्ने गर्थे । १ लाख रुपैयाँको आलु बेचेका उनले यो बर्ष ५० हजारमा खुम्चिनु परेको गुनासो गरे ।
स्थानीय फारमदेवी छन्त्यालले १ सय मुरी आलु फलाउने गरेकोमा यो बर्ष ४० मुरीपनि नपुगेको बताइन् । दुइलाखबढी कमाउने उनले यो बर्ष साह्रै थोरै मात्र कमाइ गर्न सकेको बताइन् । ‘पोखरा, बेनी र दरवाङका व्यपारीलाई बेच्थ्यौं, अहिले गाउँघरमा खानपनि नपुग्ने भयो’ उनले भनिन्, ‘मौषमले गर्दा किसान मारमा परेका छन् ।’ उनले कृषि क्षेत्रमा बीउ र मलमा अनुदान चाहिएको बताइन् ।
वडा नं. ४ का २ सय ४० घरमा आलु लगाइन्छ । हरेक घरमा १० मुरी देखि ८० मुरी सम्म उत्पादन गरिंदै आइएकोमा यो बर्ष आधा घटेको हो । समुन्द्री सतहदेखि २ हजार ४ सय मीटरको उचाइ भएकोले यहा“ धान उत्पादन हुँदैन । कोदो, मकै र फापर मात्र फल्ने भएकोले अधिकांसले आलु खाएर पनि दैनिकी चलाउँने गर्छन् । ‘आलु थोरै फल्दा किसानलाई नोक्सानी परेको छ’ वडा अध्यक्ष उदिमबहादुर छन्त्यालले भने, ‘गाउँपालिकाबाट बीउ र मलमा केही अनुदान दिन सकियो भने किसानलाई राहत पुग्नेछ ।’ खानाको सट्टा आलु खानुपर्ने किसानलाई मौषमले चुनौती दिएको उनले बताए ।
उत्पादन घटेको थाहा पाएपछि बागलुङदेखि ट्रयाक्टर लिएर आलु लिन जाने व्यपारीले तमानखोला नगएको बताए । ‘अघिल्लो बर्ष ट्रयाक्टर पठाएर किनेका थियौं, अहिले छैन भनेर गइएन’ बागलुङ बजारका होलसेल व्यपारी गणेश कंडेलले भने, ‘छिटफुट आउने आलु बजारमा महंगो पनि भएको छ ।’ अघिल्लो बर्ष ५० रुपैयाँ प्रतिकेजीमा पाइने आलु यो बर्ष १ सय रुपैयाँ पर्न थालेको कंडेलले बताए ।
तमानका किसानले अहिले सम्म स्थानीय जातकै आलु लगाउने गर्छन् । यहाँ रसायनिक मल प्रयोग हुँदैन । बिकासे जातको आलु नलगाइएकोले स्थानीय आलुकै बीउ जोगाउने काममा साथ दिने गाउ“पालिका अध्यक्ष जोकलाल बुढाले बताए । ‘बीउ र मलमा अनुदान दिने भन्दा बिकासे जान भित्रने खतरा हुन्छ, त्यसैले घरमा भएको जोगाउन प्रोत्साहित गर्छौ’ बुढाले भने, ‘तत्काल खानकालागि मात्र बजारको खरिदमा साथ दिन्छौं ।’ यहाँको वडा नं. ३ को तमान, ४ को लामेला, ५ को खुंखानी र ६ को नर्जाखानीमा बिकासे आलु भित्रिएको छैन ।
यो क्षेत्र आलु जोनमा पनि समावेश छ । मौषमको प्रतिकुलताले उत्पादनमा गिराबट आएकोले किसान मारमा परेकोले राहत बारे छलफल भैरहेको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले बताए । ‘किसानलाई कस्तो राहत दिंदा परंपरागत आलु जोगाउन सकिन्छ भन्ने छलफलमा छौं’ रेग्मीले भने, ‘उत्पादन भएकोबाट बीउ जोगाउने र खानकालागि केही राहत उपलब्ध गराउनुपर्छ ।’ रेग्मीका अनुसार जिल्लामा ४० हजार मेट्रिकटन आलु उत्पादन हुने गरेकोमा यो बर्ष कमी आएकोछ । अत्याधिक बर्षातले उत्पादन घटेको उनले बताए । यहाँको आलु भनेपछि उपभोक्ताले खोजी खोजी खाने गर्छन् । धान उत्पादन नहुने भएकोले तमानखोला गाउँपालिका र ढोरपाटन नगरको वडा नं. ६,७, ८ र ९ मा पनि आलु खाएरै दैनिकी चलाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->