
बागलुङ, ४ मंसिर– बजार क्षेत्रमा हुने चोरी नियन्त्रणका लागि उद्योग बाणिज्य संघको अगुवाईमा जडान भएका सिसि क्यामेरा अहिले शुन्य भएका छन् । अधिकांश क्षतविक्षत भएका छन् भने केही पोलमा झुण्डिएका छन् । झुण्डिएका ती क्यामेरा देखाउनका लागि मात्रै हुन् ।
बजारको सुरक्षामा प्रहरीलाई साथ दिने भन्दै उद्योग बाणिज्य संघले पाँच वर्षअघि झण्डै ४० वटा सिसि क्यामेरा जडान गरेको थियो । उद्योग बाणिज्य संघले चोरी नियन्त्रणमा प्रहरी सघाउने अभियान स्वरुप सिसि क्यामेरा जडान गरिएको निर्वतमान अध्यक्ष जयराम भारी सम्झन्छन् ।
प्रहरीले पनि अपराध नियन्त्रणमा साथ पुग्ने भएपछि ती सबै क्यामेराको फुटेज जिल्ला प्रहरीमा रहने व्यवस्थापन गराएको थियो । पछिल्लो एक वर्षदेखि प्रहरीमा फुटेज हेर्ने व्यवस्था छैन । बजारका ती क्यामेरा पनि बिग्रेकोमा मर्मत पनि भएका छैनन् । कतिपय फुटेका छन्, कतिपयमा धुलो जमेर नदेखिने भएका छन् ।
‘हामीले लाखौं खर्चेर जडान ग¥र्यौ, नगरपालिकाले पनि हेरेन, प्रहरीले पनि वास्ता गर्न छाडेको छ’ संघका पूर्वअध्यक्ष बसन्तकुमार श्रेष्ठले भने, ‘बजार क्षेत्रमा हुने जुनसुकै अपराधमा सिसि क्यामेरा नभएपछि प्रहरीले अनुसन्धान गर्न सक्दैन, रेकर्ड पनि भेटिंदैन ।’ नगरपालिकाले बजारका अव्यवस्थित पोल हटाउने काम गर्दा फालिएका क्यामेरा पनि जडान नभएको श्रेष्ठले बताए ।
जडान भएको समयताका सिसि क्यामेराको सहायताले चोरीका धेरै घटना सार्वजनिक भएका थिए । सबै क्यामेरा बिग्रेपछि कन्ट्रोल रुम संचालनमा नआएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र रेग्मीले बताए । ‘पहिला थियो, अहिले कन्ट्रोल रुम पनि छैन, बजारका पोल व्यवस्थापन गर्ने बेलामा सबै तारहरु चुंडिएपछि जडानै हुन सकेन ।’
अपराध नियन्त्रणमा समेत प्रहरीलाई बाधा पर्न थालेको रेग्मीले बताए । नगरपालिकासहित विद्युत, टेलिकम र नीजि केवल टेलिभिजन कम्पनीहरुले तार हटाउने बेलामा सिसि क्यामेरा क्षतविक्षत बनाएको रेग्मीले टिप्पणी गरे । ‘उनीहरुले प्रहरी र उद्योग बाणिज्य संघलाई वास्तै नगरी पोल ढालेछन्’ रेग्मीले भने, ‘सुरक्षा चासो बढी भएकोले व्यवसायीले फेरी सहयोग गर्ने भन्नुभएको छ ।’
नगरपालिका र संघका पदाधिकारीलाई कुरा प्रहरीलाई बजारभित्र गस्ती गर्न सुनचाँदी व्यवसायी संघले ५ वर्षअघि ७ वटा साइकल किनेर प्रहरीलाई दिएको थियो । केही महिनापछि ती साइकल प्रयोगमा आउन छाडेका छन् । गत वर्ष बैंकर्स एसोसिएसनले पनि ७ वटा साइकल दिएको थियो । दुइ महिनापछि नै ती साइकल देखिन छाडेको एसोसिएसनका अध्यक्ष दिपक शर्माले बताए ।
‘हामीले दिएका साइकलहरु त अब भेटिंदैन होला, बैंकर्सले दिएका पनि कता पुगेका छन्’ सुनचाँदी व्यवसायी अनिस खातीले भने, ‘सुरक्षाको व्यवस्थापनमा सजिलो भएका सामग्रीनै अलपत्र भएपछि प्रहरीको अनुसन्धान फितलो हुन्छ ।’ संघ र बैंकर्स एसोसिएसनले साइकल उपहार दिएका थिए । रेग्मीले ती साइकल पनि नदेखेकोले खोजी गर्ने बताए । प्रहरीको टोलीले केही समयदेखि बजारक्षेत्रमा गस्ती भने बढाएको छ । सबै गस्ती पैदलै हुने गरेका छन् ।
बागलुङ नगरपालिकाले चोक सुधार तथा सडक चौडा पार्ने कार्यक्रममार्फत पुराना पोल ढालेको छ । गुजुल्टा तार हटाउँदा सिसि क्यामेरा पनि क्षति पुगेको हो । संघले भने केही समयभित्रै नयाँ क्यामेरा जडान गर्ने योजना अध्यक्ष युवराज राजभण्डारीले बताए । ‘हामीले जोडिरहने, नगरपालिका र प्रहरीले संरक्षण नगर्ने भयो भने अपराध नियन्त्रण हुँदैन’ राजभण्डारीले भने, ‘पाएका सामाग्री चुस्त रुपमा संचालन गर्न इच्छाशक्ति चाहिन्छ ।’ अपराध नियन्त्रणमा गरिएको प्रयासमा प्रहरी र नगरपालिकाकै असहयोग भैरहेको उनले टिप्पणी गरे ।





