मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

तरकारीलाई टनेल, माहुरीलाई घार

तरकारीलाई टनेल, माहुरीलाई घार

पहिले घरायसी प्रयोजनका लागि मात्रै तरकारी फलाउँदै आएका रायडाँडाका किसानले पछिल्लो समय घर खर्च चलाउनका लागि समेत तरकारीको भर गर्न थालेका छन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०७७, बिहिबार

बागलुङ, ४ मंसिर– किसानका लागि पहिलो आवश्यकता पानी, माटो र जनशक्ति हो । सबै स्रोतले सम्पन्न हुँदाहुँदै पनि समायानुकुल परिवर्तन हुन नसकेका कारण व्यवसायीक बन्न नसकेका यहाँका किसानका लागि वडा कार्यालयले बनाएको एउटा कार्यक्रम आम्दानीको स्रोतसँग जोडिने माध्याम बनेको छ ।
बागलुङ नगरपालिका–११ रायडाँडाले ‘एक घर एक टनेल’ (हरित गृह) र ‘एक घर एक मौरीघार’ कार्यक्रम सञ्चालनमा ल्याएको दुई वर्ष भयो । वडा कार्यालयले माहुरीपालन र तरकारी खेतीमा किसानलाई व्यवसायीक बनाउन ल्याएको यो कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
प्रविधिको अभावमा सिजनमा मात्रै मौसम अनुसारका तरकारी फलाउने यहाँका किसानले बेमौसमी तरकारीसमेत फलाउन थालेका छन् । हरित गृहभित्र बेमौसममा फलेको तरकारीले बजारमा राम्रो मुल्य पाउने किसान नविन केसीले बताए । पहिले घरायसी प्रयोजनका लागि मात्रै तरकारी फलाउँदै आएका रायडाँडाका किसानले पछिल्लो समय घर खर्च चलाउनका लागि समेत तरकारीको भर गर्न थालेका छन् ।
‘यहाँ उत्पादन भएको तरकारी बागलुङ बजारमा पुग्छ’ केसी भन्छन् ‘टनेलले बेमौसममा तरकारी फलाउन सहयोग गरेको छ ।’ टनेल पाएपछि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न सकिने भएकाले पछिल्लो वर्ष यहाँ टनेलको माग बढ्दो रहेको उनले बताए ।
वडाले अनुदानमा टनेल वितरण गरेपछि वडाका कृषकले मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आत्मनिर्भर बन्दै गएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतम दाबी गर्छन् । वडाले अघिल्ला दुई आर्थिक बर्षमा १ सय ७ वटा टनेल वितरण गरेको छ । ‘दोहोरो हुनेगरी दिएका छैनौं, सबै वडाबासी व्यवसायीक बनुन् भन्ने हो’ गौतम भन्छन् ‘एउटै टनेलमा गोलभेँडा, तरकारी र नगदेबाली समेतको उत्पादन गर्ने धेरै छन् ।’
रायडाँडाका सर्वसाधारणलाई आम्दानीसँग जोड्न वडा कार्यालयले तरकारी उत्पादन, माहुरी र बाख्रापालन व्यवसायमा जोड दिएको छ । ‘जंगल धेरै छ, तरकारीका लागि उव्जाउ हुने माटो हो हाम्रो, तर यहाँ खाद्यबालीबाट आम्दानी गर्न कठिन छ’ गौतम भन्छन् ‘तरकारीको फुलमा माहुरी चर्दा दोहोरो फाईदा हुने देखेर यसो गरेका हौं ।’ माहुरीपालनमा किसानलाई प्रेरित गर्न वडाले १ सय ३ आधुनिक माहुरीका घारसमेत अनुदानमा उपलव्ध गराएको छ ।
‘धेरै थोरै अहिले हामी सबैले तरकारी बेच्न थालेका छौं, घरको स–सानो खर्च चलाउन सजिलो हुँदोरहेछ’ स्थानीय हिरा थापाले भने ‘माहुरी पाल्ने पुरानो चलन त छ आधुनिक घारले उत्पादन बढाउने देखेका छौं ।’ अहिले नै व्यवसायीक आम्दानीको लागि पर्याप्त खेती नभईसकेको भएपनि किसानहरु तरकारी र माहुरीपालनमा आर्कषित भएको उनले बताए । स–सानो सहयोगले मात्रै पनि किसानलाई उर्जा मिल्ने भन्दै उनले व्यवसायीक बनाउन उत्पादनमा सहयोग र बजारीकरणमा समन्वय गरिदिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->