सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बागलुङमा खस्कदै नेपाली हाते कागज

बागलुङमा खस्कदै नेपाली हाते कागज

उत्पादन वर्षेनी घट्दो हुँदा कामदार पलायन भएका छन् भने ग्रामीण उद्योगहरु जीर्ण बन्दै गएका छन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७७, शुक्रबार
बागलुङको ताराखोलाकी उद्यमी मिरा रोका आँफूले उत्पादन गरेको रंगीन हाते कागजका सामाग्री देखाउँदै । रंगीन बनाउँदा आम्दानी दोब्बर बढेको उनीहरुले बताए । फाइल तस्बिर

बागलुङ, ५ मंसिर– बागलुङ उद्योग बाणिज्य संघले एक जिल्ला एक उत्पादनका लागि नेपाली हाते कागजको जिल्ला भनेर चिनाएको छ । उद्योग बाणिज्य महासंघले पनि बागलुङ हाते कागजको जिल्लाको रुपमा चिनाउने गरेको थियो । तर बागलुङमा हाते कागजको उत्पादन वर्षेनी खस्कंदो अवस्थामा छ । भएका उद्योगहरु धरासायी बन्दै गएका छन् ।
उत्पादन वर्षेनी घट्दो हुँदा कामदार पलायन भएका छन् भने ग्रामीण उद्योगहरु जीर्ण बन्दै गएका छन् । कतिपय लोप भैसकेका छन् । कच्चा पदार्थको संकलनमा कठिनाई, कामदार अभाव र बजारीकरणमा समस्या भएको उद्यमीहरुको गुनासो छ । बजारमा सजिलै बिक्री नभएपछि उत्पादनमा लागेकाहरुले पनि अर्को पेशा रोज्न थालेका छन् ।
लेखानीमा केही वर्ष अघिसम्म संचालित उद्योग अहिले धरासायी जस्तै छ । ‘पहिला दर्ता नभई चलेको रहेछ, दर्ताको प्रक्रिया थाल्दैछौं’ काठेखोला गाउँपालिका वडा नं. ८ की अध्यक्ष चित्रकला छन्त्यालले भनिन् ‘उद्योग विभागमा गदर्ताका लागि धेरै प्रक्रिया पुरा गर्नुपर्ने देखियो ।’ त्यसका लागि स्थानीय उद्यमीहरुले निरन्तर धाउनुपर्ने बाध्यताले ढिला भएको उनले बताइन् ।
केही समयअघिसम्म स्थानीय जंगलको लोकताबाट उत्पादन भएकोमा टाढाबाट ल्याउँदा दर्ता भएको अनिवार्य हुनुपर्ने बाध्यताले उनीहरु दर्ताको प्रक्रियामा अगाडि बढेका हुन् । सामान बिक्री गर्दा बनाउने बीलदेखि खरिद गर्दाको भुक्तानीसमेत दर्ता प्रमाणपत्र अनिवार्य भएकोले उद्यमीको एकल प्रयासले नहुने छन्त्यालले बताइन् ।
गाउँपालिका तहबाट भौतिक पूर्वाधारमा अनुदान वा निर्माणको काममा सहयोग गर्न सकिने गाउँपालिका अध्यक्ष अमर थापाले बताए । केही मर्मतका लागि भने चालु वर्ष पनि बजेट रहेको उनले जानकारी दिए ।
उता, तमानखोलामा दशक अघिसम्म संचालित घरेलु उद्योगहरु सबै समाप्तै भएका छन् । तमानमा नेपाली हाते कागज उत्पादन हुन्थ्यो । बजारको व्यवस्था नहुनु र कागजको गुणस्तर सुधारसमेत नभएपछि लोप भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
‘बजारको आधुनिक नेपाली कागजसँग हाम्रा उत्पादनले प्रतिष्पर्धा गर्न सकेनन् र लोप भए’ बुढाले भने, ‘परम्परा जोगाउनका लागि पहल गरेपनि कामदारसमेत पाउन छाडेका छन् ।’ नेपाली हाते कागजका लागि सानो लगानी र हातैले काम गर्नुपर्ने भएकोले उद्यमीले धेरै मेहेनत गर्नुपर्छ । तर बजारिया सामानसँग प्रतिष्पर्धी मूल्यमा पनि जानुपर्दा थेग्न नसकेको उनले बताए ।
बजारमा फोटोकपी गर्न मिल्ने, प्रिन्टमा प्रयोग हुने गुणस्तरको नेपाली कागजको माग भएपनि परम्परागत विधिबाट संभव नभएको उद्यमीले बताए । ताराखोलामा एउटा उद्योग संचालनमा छ । तर उक्त उद्योगले उत्पादन गरेको कागज पनि फोटोकपीका लागि उपयुक्त छैन । त्यसैले बजारमा प्रतिष्पर्धी बन्न सकेका छैनन् । तरपनि उद्यमीले डायरी, झोलाजस्ता सामाग्री बनाएका छन् ।
गाउँपालिकाको समेत सहयोग पाएर ताराखोलास्थित जुल्फे लोक्ता प्रशोधित तथा हाते कागज समूहले मात्र अहिले व्यवसायिक कागज उत्पादन गरेको छ । कार्यालय प्रयोजनका लागि भने बिक्री नभएको ताराखोलाकी उद्यमी उद्यमी मिरा रोकाले गुनासो गरिन् ।
घरेलु तथा साना उद्योग विकास समितिको रणनीतिक योजनामा पनि नेपाली कागज संरक्षण गर्ने भन्ने सूचिकृत थियो । समितिबाट कार्यालयमा रुपान्तरण भएपछि यो विषय ओझेल परेको छ । ताराखोलाले घर घरमा उद्यमी बनाउने योजनामा पनि हाते कागज उल्लेख छ ।
बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले संरक्षणको योजना भएपनि बजारका अन्य कागजले स्थानीय उत्पादन ओझेल परेको बताए । ‘संघले गर्ने उपयोगमा धेरैजसो स्थानीय उत्पादन प्रयोग गरेका छौं, तर मेसिनहरु नयाँ ल्याएर बजारको प्रतिष्पर्धी बनाउन सकिएको छैन’ राजभण्डारीले भने, ‘महासंघले पनि यो कार्यक्रम स्थगित गरेकोले पहिला जस्तो अभियानमा जोड्न सकिएको छैन ।’
लोकताको नर्सरी बनाएर उत्पादन बढाउने योजना भने संघले बनाएको उनले दाबी गरे । संघ र अन्य सरकारी संस्थामा अहिलेसम्म जिल्लाको यकिन उत्पादन र आयात निर्यातको तथ्यांक पनि छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->