सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

उत्पादकत्व खोज्दै जैमिनी नगरपालिका

उत्पादकत्व खोज्दै जैमिनी नगरपालिका

शिविर मार्फत माटो परीक्षण, माटो अनुसारको बाली लगाईने


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७७, शुक्रबार

बागलुङ, ५ मंसिर– बागलुङको जैमिनी नगरपालिकाले माटोमा उत्पादकत्व परीक्षण गर्न थालेको छ । नगरका दशवटै वडामा माटोको परीक्षण गरेर उत्पादकत्व खोजी गर्न थालिएको हो । माटोको गुण अनुसारको बाली लगाउने उद्देश्यले माटो परीक्षण थालिएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए ।
माटोमा रहेको अम्लियपन र उत्पादकत्वमा ह्रास आउनुको कारण खोज्न नगरपालिकाले परीक्षण शिविर सञ्चालन गरेको छ । शिविरको पहिलो चरणमा किसान आँफैलाई माटोको नमुना संकलनको विषयमा कृषि प्राविधिकहरुले जानकारी गराएका छन् ।
‘हामीले उत्पादन बढाउने उद्देश्यले यसो गरिरहेका छौं’ नगरप्रमुख पौडेल भन्छन् ‘जर्बजस्त खेतीले कृषिमा प्रगति गर्न सकिन्न ।’ सबै वडामा प्रतिनिधिमुलक हिसाबले उव्जाउ हुने जमिनको माटो परीक्षण हुने उनले बताए । माटोको क्षमता अनुसारको बालीका लागि नगरपालिकाले प्राविधिकको सल्लाहमा सिफारिस गर्नेछ ।
‘हिजो जस्तो आज हाम्रो उत्पादन छैन्, गिरावट भएको उत्पादन बढाएर कम्तिमा हामी कृषिमा आत्मनिर्भर हुन चाहन्छौं’ पौडेल भन्छन् ‘थोरै लगानीमा हाम्रो माटोको क्षमता पत्ता लाग्छ भने परीक्षण किन नगर्ने ?’
चालु आर्थिक वर्षमा नगरपालिकाले २ लाख ५० हजार रुपैयाँ माटो परीक्षणका लागि विनियोजन गरेको छ । यस वर्ष एक हजार नमुना परीक्षण गर्ने लक्ष्य रहेको कृषि प्राविधिक रविन्द्र शर्माले बताए । पोखरामा रहेको माटो परीक्षण प्रयोगशालाले जैमिनीमा शिविर सञ्चालन गरेर परीक्षण थालेको छ ।
‘किसान आँफैले नमुना ल्याउनुहुन्छ, नमुना संकलन विधि हामीले सिकाईसकेका छौं’ शर्माले भने ‘प्रयोगशालाले अम्लियपन, नाईट्रोजन, फसफोरसलगायतका माटोमा हुने तत्वहरुको खोजी गर्नेछ ।’ किसानले यो सुविधा निशुल्क पाउने छन् । माटोको सुधारका लागि कुनै तत्वहरु उपलव्ध गराउनुपर्ने भएमा नगरपालिकाले निशुल्क उपलव्ध गराउने कार्यक्रम बनाएको छ ।
‘किसानले खेती गर्ने माटोको विषयमा जानकारी राख्नु जरुरी हुन्छ’ प्राविधिक शर्मा भन्छन् ‘नगरपालिकाले किसानका लागि दिएको यो राम्रो अवसर हो ।’ प्रत्येक वडाबाट १८ देखि २० जनासम्म किसानले नमुना संकलन गर्ने विधि सिकेका छन् । उनीहरुकै सहायतामा परीक्षणका लागि नमुना संकलन हुनेछ ।
‘एकै वर्ष सबै जमिनको परीक्षण नसकिएला तर यो निरन्तर प्रक्रिया हो’ नगरप्रमुख पौडेलले भने ‘हाम्रो उत्पादकत्वको अवस्थाका विषयमा केही जानकारी अवस्य हुन्छ ।’ लामो समय एकै किसिमका बाली लगाउने र माटोको अवस्था नबुझी खेती गर्दा उत्पादन कम हुने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->