सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बलेवामा प्याराग्लाडिङका लागि स्थानीय सकृय

बलेवामा प्याराग्लाडिङका लागि स्थानीय सकृय

प्याराग्लाईडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बलेवाका लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७७, शनिबार

बागलुङ, ६ मंसिर–बलेवामा प्याराग्लाडिङ सञ्चालनका लागि स्थानीयले सकृयता देखाएका छन् । पोखराको विकल्पमा बलेवामा प्याराग्लाईडिङ सञ्चालन गर्ने प्रदेश सरकारको तयारीलाई साथ दिने भन्दै बलेवा क्षेत्रका सर्वसाधारणले चासो देखाएका हुन् ।
शुक्रबार बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका चार वडाका सर्वसाधारणको भेला बसेर प्याराग्लाडिङकालागि आवश्यक संरचना निर्माणको तयारी थाल्ने उद्घोष गरेका छन् । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणाधिन रहेको र त्यसको सञ्चालन सँगै प्याराग्लाईडिङ बिस्थापित हुने चर्चा छ ।
प्याराग्लाईडिङसँग जोडिएको पर्यटनलाई कायम राख्नकालागि प्रदेश सरकारले बिभिन्न पाँच ठाउँ विकल्पको रुपमा प्रस्तुत गरेको छ । बलेवामा गत बर्ष भएको पहिलो चरणको परीक्षण र गत असोज महिनामा भएको दोस्रो चरण परीक्षण समेत सफल भएपछि यहाँ प्याराग्लाईडिङको व्यवसायीक उडान गर्नुपर्ने स्थानीयको माग रहँदै आएको छ ।
‘कुनै पनि हिसावले बलेवामा सम्भावना नभएको भन्ने भएन्’ बलेवा नारायणस्थानका भरत पौडेलले भने ‘अरुले गरिदिए हुन्थ्यो भन्दापनि हामी आँफैले पहल गरौं भन्ने हो ।’ पहिलो चरणमा प्याराग्लाईडिङको उडान भर्ने ठाउँमा पूर्वाधार निर्माणको काम थाल्ने भेलालले निर्णय गरेको छ । पूर्वाधार निर्माणका लागि उपभोक्ता समिति गठन भएको छ । भेलाले एक बर्ष भित्रमा उडानका लागि आवश्यक ठाउँ लगायत त्यहाँ आवश्यक पूर्वाधार निर्माणका लागि उपभोक्ता समितिलाई अख्तियारी दिएको छ ।
उपभोक्ता समितिको अध्यक्षमा पदम बहादुर क्षेत्री, उपाध्यक्षमा गोविन्द बहादुर पौडेल, सचिवमा भरत पौडेल र कोषाध्यक्षमा पार्वती अधिकारी पाठक, सह–सचिवमा प्रेम बहादुर रोका चयन भएका छन् । सदस्यहरुमा सुमन भुसाल, राजु शाही, पहेँली थापा, सीता थापा, प्रकाश सुवेदी रखाल, सावित्री कुँवर चयन भएका छन् । उनीहरुले अबको एकबर्षमा प्यारा ग्लाडिङकालागि आवश्यक पूर्वाधारको तयारी तथा नक्साङ्कनकालागि आवश्यक काम गर्नेछन् । ‘हाम्रोमा सम्भावना छ, बलेवा बिमानस्थल सञ्चालन भए ल्याण्डिङ कहाँ गर्ने भन्ने मुख्य समस्या हो’ बागलुङ नगरपालिका–१२ का अध्यक्ष गुरुदत्त पाठकले भने ‘यो बलेवाको पर्यटन सँग जोडिएको मुख्य कडि हो ।’ भेलाले पाठककै नेतृत्वमा ११ सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको छ ।
गण्डकी प्रदेश सरकारको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयले प्याराग्लाईडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बलेवाका लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बलेवा बिमानस्थलसमेत कालोपत्रेको काम भैरहेको र सञ्चालनको सम्भावना रहेकाले ओर्लिने ठाउँको विषयमा थप छलफल गर्ने सहमति भएको छ ।
प्रदेश सरकारले यसअघि परीक्षण सफल भैसकेका बागलुङको बलेवा, पर्वतको बिहादी, लमजुङको राईनासकोट, स्याङ्जाको सोरेमैदान र कास्कीको अर्मालालाई विकल्पको रुपमा राखेर पूर्वाधार विकास गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->