बागलुङ, ९ मंसिर – प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले उद्योगको विकास गरेर मात्रै मुलूकमा समृद्धिको आधार खोज्न सकिने वताएका छन् । राष्ट्रिय उद्योग दिवसका अवसरमा घरेलु तथा साना उद्योग कार्यालय बागलुङले मंगलवार आयोजना गरेको मंगलबार सामाजिक दुरी सहित भएको कार्यक्रममा बोल्दै प्रजिअ न्यौपानेले उद्योगले रोजगार सिर्जना गर्नुका साथै राज्यलाई कर अभिवृद्धिमा समेत टेवा पु¥याउने बताए ।
गत आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादनमा समेत उद्योग क्षेत्रको १५ प्रतिशत बढि योगदान रहेको उल्लेख गर्दै प्रजिअ न्यौपानेले अझै पनि उद्योगमैत्री बातावरण बन्न नसकेकोतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । ‘नयाँ संघीय अभ्याससँगै राजनीतिक स्थिरतातर्फ देश गइरहेको छ, यद्यपी अहिले कोरोनाले सताइरहेको छ’ प्रजिअ न्यौपानेले भने, ‘उद्योग सञ्चालनका सन्दर्भमा थुप्रै नीतिगत समस्या छन्, संघ सरकार प्रदेश र स्थानीय तहका बीच पनि यथेष्ट समन्वय नहुँदा उद्योगी व्यवसायीले दुःख पाइरहेका छन्, यस्ता झञ्झटिला प्रक्रिया हटाएर औद्योगिक बातावरण बनाउनुपर्छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, बागलुङ उद्योग बाणिज्य सघंका प्रथम उपाध्यक्ष राजनकुमार शाक्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्लाका उद्योगी व्यवसायीहरु भगवती केसी, रामराज गुरुङ, रोशन खड्का लगायतले दर्ता, सहुलियत, कामदार अभाव लगायतका समस्या भएकाले घरेलु उद्योग कार्यालयले दक्ष जनशक्ति उत्पादन लगायतका विषयमा पहल गर्नुपर्ने बताए ।
जिल्लामा यस वर्षको पहिलो चौमासिकमा लघु, घरेलु तथा साना गरी ९३ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले जानकारी दिईन । कार्यक्रम कार्यालय प्रमुख शर्माको अध्यक्षता र अधिकृत बिष्णुनाथ पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।





