पोखरा, १० मंसिर – सोमबार पोखरामा प्याराग्लाडिङ दुर्घटना भयो । दुर्घटनामा पाइलट राजु नेपालीले ज्यान गुमाए भने यात्रु शिला श्रेष्ठ घाइते भइन् । दुर्घटनाको खबरले भर्खरै खुलेको प्याराग्लाइडिङ प्रभावित भयो । दुर्घटनाको खबरले मान्छेहरु डराए । छुटको अफर उपयोग गर्दै आकासमा उड्ने सपना बनाएकाहरु बिच्किए । आन्तरिक पर्यटक लक्षित छुटको कार्यक्रमले उकासिने सुरमा रहेको प्याराग्लाइडिङ तथा पोखराको आन्तरिक पर्यटनलाई यसले गम्भीर धक्का पु¥याएको छ । प्याराग्लाइडिङ असुरक्षित भन्ने सन्देश प्रवाहित भएको छ । दुर्घटनासँगै मंगलबार पोखराको आकासमा उडान भरिएन ।
आकासमा उडान भर्नु साहसिक काम भए पनि स्रोतले चाहिँ यो दुर्घटना सामान्य नभएको बताएको छ । स्रोतका अनुसार यात्रु राखेर फूल टिप्ने क्रममा यो दुर्घटना भएको थियो । पछिल्लो समय टिकटकदेखि सामाजिक सञ्जालमा ‘भाइरल’ हुन रुचाउने चलन बढ्दो छ । यसको प्रभाव प्याराग्लाडिङमा नपर्ने कुरै भएन । आजकल केही प्याराग्लाडिङ पाइलटहरुले उडानको क्रममा फूल टिपेर यात्रुलाई दिने, फेवातालको पानीमा खुट्टाले छुवाउनेजस्ता काम गर्दै यात्रुलाई खुसी बनाउँदै आएका थिए ।
‘वाटर टच, फ्लावर क्याच भनेर भन्ने अनि ५ सयसम्म अतिरिक्त पैसा लिने प्रचलन गरियो, यो राम्रो कुरा हैन, आकासमा उड्नु आफैमा जोखिम हो, लापरवाही गर्न पाइँदैन, त्यस्तो काम गर्ने हो भने एक्लै गर्नुप¥यो’, एक पाइलटले भने,‘ एक्रोब्याटिकमा त रिकोभर भएन भने सामान्य मानिन्छ तर गाडीले सिधै लगेर मान्छे हानेजस्तो गर्न पाइँदैन, मान्छे मरेपछि क्षति भयो, यात्रु राखेर यस्तो हर्कत गर्न पाइँदैन ।’ उनले राम्रो हुँदा भाइरल हुने यस्तो काम रोकिनुपर्छ । उडानअघि गरिने सम्झौतामा यी गतिविधि गर्ने भनेर लेखिएका हुँदैनन्, गर्नु पनि हुँदैन, थप पैसा पाइन्छ र भाइरल बनिन्छ भनेर यस्तो गर्दा समग्र व्यवसायलाई असर गर्छ’, उनले थपे । दुर्घटनापछि प्याराग्लाडिङ असुरक्षित भन्ने सन्देश गएकाले अब सुरक्षामा सम्झौता गर्न नहुने उनले बताए ।
दुर्घटना हुनुअघि पोखराका आकाशमा दैनिक ५ देखि ६ सय हाराहारीमा प्याराग्लाइडिङले उडान भर्थे । अधिकांश काठमाडौं, बुटवल, चितवन लगायत पूर्वी नेपाल र पश्चिम नेपालका पनि विभिन्न जिल्लाबाट प्याराग्लाइडिङ उडान भर्न आएका थिए । युवा जमातको प्याराग्लाइडिङमा आकर्षण बढ्दो थियो ।
व्यवसाय छोडेर अन्यत्रै पलायन भई सकेका प्याराग्लाइडिङ पुन ः यही व्यवसायमा फर्किएका थिए । दशैं यता प्याराग्लाइडिङमा विशेष छुट अफर ल्याएपछि प्याराग्लाइडिङ गर्नेहरुको दर ह्वात्तै बढेको थियो । नेपाल हवाई खेलकुद संस्था (ना)ले प्याराग्लाइडिङ यति छिट्टै ब्यूँतिने आँकलन व्यवसायीले पनि गरेकै थिएनन् ।
संस्थाका महासचिव बलराम आचार्यले लामो समय सञ्चालनमा आउन्न होला भनेरै व्यवसायी अफिस थन्काएर पलायन हुने अवस्थामा पुगेको बताए । ‘यसबाट तत्काल घाटा पूर्ति गर्न सकिन्न कि भन्ने अवस्था थियो । हामीले यो मूल्यांकन गर्न सकेका थिएनौं । आन्तरिक पर्यटकबाट यति धेरै युवायुवती आकर्षित भएर आउनुहुन्छ र यति चाँडै सञ्चालनमा आएर सहज होला भनेर मूल्यांकन गर्न सकिएन’, उनले भने, ‘कतिपय कम्पनी बन्द गर्ने मुडमा थिए तर अहिले फेरि सुचारु भएका छन् ।’
प्याराग्लाइडिङ उडान भर्नेहरुको चाप बढेपछि (ना)ले उडान तालिका नै निकालेको थियो । नयाँ समयतालिका अनुसार बिहान साढे ९, १० र ११ गरि तीन राउन्ड एउटा कम्पनीले २ पटक उडान भर्न पाउने छन् । प्याराग्लाइडिङ गर्ने पर्यटकहरुको चाप बढेसँगै उडान तालिका मिलाउनै हम्मेहम्मे परेको थियो । लकडाउन अघि प्याराग्लाइडिङमा पर्यटकहरुले त्यति रुचि नदेखाए पनि लकडाउनपछि प्याराग्लाइडिङमा पर्यटकहरुको रुचि बढेको छ । प्याराग्लाइडिङ उडान मूल्य कम गरेसँगै पर्यटकहरुको फ्लो बढेको उनले सुनाए । प्रचार, प्रसारले पनि प्याराग्लाइडिङप्रति आकर्षण बढेको उनको जिकिर छ ।
यसअघि नेपालीको लागि ७ हजार र विदेशी पर्यटकका लागि ८ हजार भाडादार कायम गरिएकोमा अहिले ३ हजारमा उडान भइरहेको छ । यो विशेष छुट प्याकेज हो । पर्यटकीय गतिविधि छ है भन्ने सन्देश दिनकै लागि नाफा नराखी उडान भरेको उनले जिकिर गरें । पोखरामा नेपाल हवाई खेलकुद संस्थाबाट उडान अनुमति पाएका ३३८ प्यारापाइलछ छन् । ६१ प्याराग्लाइडिङ कम्पनीमध्ये ११ कम्पनीले मात्रै लकडाउनपछि उडान गरिरहेका छन् ।





