बागलुङ, १० मंसिर– गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवि पुनले मंगलबार जिल्ला अस्पताल पर्वतको निरीक्षण गरेकी छन् । ५० शैया क्षमतामा स्तरोन्नती हुन लागेको अस्पतालमा भौतिक पूर्वाधार र व्यवस्थापन लगायतको निरीक्षणका लागि मन्त्री पुन पर्वत पुगेकी हुन् ।
अस्पतालको निरीक्षणपछि मन्त्री पुनले अस्पतालमा भैरहेको सुधारले आँफु सन्तुष्ट रहेको बताइन् । अन्य जिल्ला अस्पतालको तुलनामा पर्वत अस्पतालले गरेको प्रगति प्रशंसनीय रहेको उनको भनाई थियो । कोभिड–१९ अस्थायी अस्पतालको विषयमा समेत पुनले चासो व्यक्त गरेकी थिइन् ।
अस्पतालले पछिल्ला दिनमा थप गरेका सेवाहरुको अवस्था र निर्माणाधिन ५० शैयाको अस्पताल भवनको बारेमा मन्त्री पुनले चासो राखेको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । मन्त्री पुनले अस्पतालले ५० शैया स्तरोन्नती गर्दा आवश्यक जनशक्तिको दरवन्दीसमेत पाउने आश्वासन दिएकी थिइन् ।







