बागलुङ, १२ मंसिर– तमानखोला वडा नं. ३ र ४ मा झण्डै ६ सयबढी घर छन् । राष्ट्रिय प्रसारण लाइनको बिजुली छैन । तर पनि यो गाउँ झिलीमिली छ ।
यहाँ साना उद्योग र विद्युतबाट चल्ने धेरै काम नियमित चलेका छन् । त्यसको एउटै कारण छ, यहाँको एउटै खोलामा ४ स्थानमा बिजुली निकालिएको छ । ती चारवटा बिद्युतले गाउँ झिलिमिलि बनाएको हो । सदरमुकामदेखि १ सय ३० किमी पश्चिमको तमानखोलाको बिजुलीले वडा नं. ३ र ४ का ६ सय घरमा झिलिमिलि बलेको हो ।
दशकदेखि स्थानीयले गरेको श्रमदानबाट चारवटा विद्युत बनाएका हुन् । तमानखोला लघु जलविद्युतको ४० किलोवाट, सानो तमान लघुजलविद्युत आयोजनाको १८ किलोवाट, माथिल्लो तमान आयोजनाको १० र तल्लो तमान २० किलोवाट क्षमताको बिजुलीले गाउँमा उज्यालो बनाउन सकिएको स्थानीय बसन्त घर्तीमगरले बताए । गाउँका हरेक घरबाट चन्दा संकलनदेखि श्रमदानसमेत गरेर बनाएकोले गाउँलेबाटै संरक्षण पनि भैरहेको उनले बताए ।
तमानबासीले बिजुलीबाहेक स्वास्थ्य चौकीको उपकरण राख्ने कोल्डचेन स्टोर, विद्यालयका सूचना केन्द्र, कुटानी पिसानी मिलसमेत चलाउन पाएका हुन् । ‘राष्ट्रिय प्रसारण कहिले आउँछ थाहा छैन, तर महिनौं श्रमदानबाट बनाएका आयोजनाबाट हामीले बिजुली बाल्न पाएका छौं’ स्थानीय मनकुमारी बुढाथोकीले भनिन्, ‘छोराछोरीले साँझबिहान पढ्नलेख्न पाएका छन् ।’ यहाँका विद्युत उत्पादन गर्दा उनीहरुले तीन महिनासम्म श्रमदान गरेका थिए ।
स्थानीयले कुखुरापालन, ग्रिल उद्योग, फर्निचर र पाउरोटी उद्योगसमेत गाउँमै खुलाएका छन् । विद्युत सेवा पुगेकोले टोल टोलमा कुटानीपिसानी मिल बनेको बुढाथोकीले बताइन् । ‘पिठुयुँमा बोकेर टाढासम्म जानुपर्ने बाध्यता पनि हटेको छ’ उनले भनिन्, ‘घरेलु तानमा कपडा बुन्नेले पनि बिजुलीबाट चल्ने बनाएका छन् ।’
यहाँका महिलाले ढाका बुनाई गर्छन् । गाउँपालिकाले सबै विद्यालयमा कम्प्युटर शिक्षा थालेको छ । हरेक विद्यालयमा ५ वटाको दरले कम्प्युटर र एकएक जना प्राविधिक शिक्षकको व्यवस्थापन गरेपछि कम्पयुटर कक्षा चलेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । ‘बिजुली नभएको भए यो व्यवस्था काम लाग्ने थिएन’ उनले भने, ‘राष्ट्रिय प्रसारण ल्याउन पनि पहल भएको छ, तर त्यसपछि पनि मिनीग्रिडमार्फत यहाँका उत्पादन जोड्ने चाहना छ ।’ गाउँपालिकाले लगानी गरेर भएपनि मिनीग्रिडमार्फत सबै साना विद्युत एकीकृत गर्ने उनले बताए ।
गाउँपालिकाकै अगुवाइमा यहाँका ६ वटै वडामा फलामे पोल विस्तार गरिएको छ । काठेपोल कुहिएर जोखिम बढ्ने भएपछि सुरुवातमा गाँडिएका हटाएर फलामे गाँडिएको हो । ‘फलामे पोल भएकोले राष्ट्रिय बिजुली आएपनि सहजै विद्युतीकरण गर्न सकिन्छ’ पुनले भने, ‘पूर्वाधार तयार पारेका छौं, विद्युतीकरण भयो भने मझौला प्रकारका उद्योग संचालनमा पनि पहल गर्छौ ।’ लामो समयदेखि रोकिएका हाते कागज उद्योग चलाउने योजना उनले सुनाए ।
तमानहुँदै सोलेडाँडादेखि म्याग्दीको दरबाङ जाने रणनीतिक सडक बन्दै गरेकोले स्थानीयले मोटर ग्यारेजसमेत खोल्ने योजनामा छन् । विद्युतीकरणले व्यवसायीलाई सहयोग पुगेको छ । विद्युत सेवाको विस्तारले गाउँ फर्केका युवाहरुलाई रोजगारी दिन सहयोग पुग्ने वडा नं. ४ का अध्यक्ष उदिमबहादुर छन्त्यालले बताए ।
‘कृषि, पशुपालन र घरेलु उद्योगमार्फत रोजगारी बढाउने योजनामा विद्युत सहयोगी भएको छ’ उनले भने, ‘होमस्टेलगायत पर्यटन प्रवद्र्धनका गतिविधिलाई पनि विद्युत सेवाले साथ दिएको छ ।’ २ हजार ६ सय मीटरको सोलेडाँडामा पनि विद्युतीकरण भैसकेको उनले बताए ।
गाउँपालिकाले जडिबुटी संकलन र प्रशोधनको उद्योग संचालन गर्न सकिने गरी नीति बनाएको छ । लघु विद्युतको क्षमताले नपुगेमा आगामी वर्षसम्म राष्ट्रिय प्रसारण लैजान पहल भैरहेको बुढाले बताए । ‘एकदुइ वटा उद्योग संचालनमा आयो भने १ हजार ५ सयसम्म युवा रोजगार बन्न सक्छन्’ बुढाले भने, ‘दुधजन्य उद्योग चलाउन पनि विद्युतीकरण आवस्यक छ ।’ यहाँ गाइभैसी पालन राम्रो छ । तर दूध बिक्रीका लागि नजिकमा बजार नभएपछि परिकार बनाएर बेच्नका लागि विद्युतको माग बढेको उनले बताए ।





