मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

खानेपानी बोर्ड गठनका लागि कार्यदल

खानेपानी बोर्ड गठनका लागि कार्यदल

उपभोक्ता समितिको व्यवस्थापनमा सञ्चालनमा रहेको खानेपानीलाई खानेपानी बोर्डमार्फत संचालन गराउन कार्यदल गठन गरेको बताइएको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०७७, शुक्रबार
फाईल तस्विर

बागलुङ, १२ मंसिर– बागलुङ बजारको खानेपानी समस्या समाधानका लागि नगरपालिकाले चासो राखेको छ । नगर कार्यपालिकाको बैठकले समस्या समाधानका लागि विकल्प खोजेको हो । उपभोक्ता समितिको व्यवस्थापनमा सञ्चालनमा रहेको खानेपानीलाई खानेपानी बोर्डमार्फत संचालन गराउन कार्यदल गठन गरेको बताइएको छ ।
आवश्यक प्रक्रिया र कानुनी प्राबधानको खोजी गर्न कार्यपालिका बैठकले वडा नं. २ का अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा ६ सदस्य रहेको कार्यदल गठन गरेको नगरप्रमुख जनकराज पौडेलले बताए । कार्यदलमा वडा नं. १ का अध्यक्ष दुर्गा बहादुर बोहरा, ३ का अध्यक्ष लक्ष्मी बास्कोटा, ४ का अध्यक्ष ध्रुव केसी, ६ का अध्यक्ष खिमराज सापकोटा र ११ का अध्यक्ष ज्ञानेन्द्र गौतम सदस्य छन् ।
‘उपभोक्ता समितिको व्यवस्थापनमा खानेपानी वितरण भैरहेको छ, तर गुनासो आउन नछोडेपछि विकल्पको खोजी गर्न थालेका छौं’ पौडेलले भने ‘महानगरहरुमा खानेपानी बोर्डले व्यवस्थापन गरिरहेकोले हामीले पनि त्यही मोडल थाल्ने योजना बनाएका हौं ।’ कार्यदलले उक्त मोडलको अध्ययन गरेर बागलुङको संभाव्यता पनि खोज्ने छ ।
बोर्ड नगरपालिकाकै मातहतमा रहने छ । बोर्डका लागि प्रदेश र संघीय कानुनको प्रारम्भिक अध्ययन कार्यदलले गर्ने छ । ‘हामिले पहिले अन्यत्र भएका प्रयासको बिषयमा अध्ययन गर्छौं, त्यसपछि हाम्रोमा अनुकुल विकल्पको बिषयमा प्रतिवेदन तयार हुने छ’ संयोजक आचार्यले भने ‘हिउँदे अधिवेशनमा कानुन ल्याउने गरी तयारी हुन्छ ।’
बागलुङ बजारमा खानेपानी र फोहोर व्यवस्थापनको बिषयमा सबैभन्दा धेरै जनगुनासो आउने गरेको छ । सहकारी÷सहकारी साझेदारीमार्फत हुँदै आएको फोहोर व्यवस्थापनको कामलाई नगरपालिका माताहतमा ल्याएको केही समयमा खानेपानीको व्यवस्थापनको विषयमा विकल्प खोज्न थालिएको हो ।
‘उपभोक्ता समितिले उपभोक्ताकै चित्त बुझाउन सकिरहेको छैन्, गुनासाहरु दिनदिनै बढेका छन्’ नगरप्रमुख पौडेल भन्छन् ‘नगरको माताहतमा रहने बोर्ड थप जवाफदेही भएको अन्यत्रका उदाहरणहरु छन् ।’
केही दिन पहिले बसेको कार्यपालिका बैठकमा खानेपानीको विषयमा सदस्यहरुले चर्को आवाज उठाएपछि नगरपालिकाले विकल्पको खोजी गर्ने निर्णय गरेको हो । ‘मौजुदा कानुनले बोर्ड गठनको प्रकृयागत बाटो खुल्ला राखेको छ, यस सम्बन्धि नयाँ कानुन निर्माणका लागि संसदीय समितिमा छलफलको क्रममा रहेको सुनेको छु’ कार्यदल संयोजक आचार्य भन्छन् ‘नयाँ कानुनले समेत बोर्ड गठनको बाटो खुल्नेमा आशावादी छौं ।’ बोर्ड गठन भएमा खानेपानीको आपुर्तिदेखि नयाँ निर्माण भैरहेका आयोजनको जिम्मेबारी नगरकै मातहतमा आउने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->