काठमाडौं, १४ मंसिर– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । ढकालले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गरे । ढकालका प्रतिद्वन्द्वी किशोर प्रधानले एसोसिएटबाट ३७४ मत, वस्तुगतबाट ३९ र जिल्ला तथा नगरबाट ५३ मत प्राप्त गरे ।
ढकाल प्यानलबाट एसोसिएटतर्फका उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् भने प्रधान प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।
आइएमई ग्रुपका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ हाथवे इन्भेस्टमेन्ट, आइएमई को–अपरेटिभ, चन्द्रागिरि हिल्स लगायत व्यवसायिक संस्थामा लगानी गरेका छन् । वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालले अध्यक्षसँग मिलेर निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानमा केन्द्रित हुने बताए ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन्छ । मतपरिणाम अनुसार ढकाल समूहबाट उपाध्यक्षमा एक जना र प्रधान समूहबाट दुई जना विजयी भएका छन् । जिल्लमा किशोर समूहले बहुमत ल्याएको गरेको छ । वस्तुगतमा ढकाल र प्रधान समूहका सात–सात जना कार्यकारिणी सदस्य विजयी भएका छन् ।





