बागलुङ, १४ मंसिर– कोरोना भाईरस संक्रमणको त्रासले सबै सदस्य भेला हुन नसकेपछि यहाँको एक सहकारी संस्थाले घुम्ती साधारणसभा सुरु गरेको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले घुम्ती साधारणसभा सुरु गरेको हो ।
संस्थाका शेयर सदस्य रहेका टोलहरुमा पुगेर साधारणसभा गर्न थालिएको संस्थाका प्रबन्धक भरत पौडेलले बताए । साधारणसभालाई औपचारिक मात्रै नभएर महामारीको समयमा प्रभावकारी बनाउन टोल टोलमा घुम्ती भेलाको आयोजना गरिएको पौडेलले बताए । सदस्यको अधिकार प्रयोग गरी सल्लाह सुझाव र प्रस्तावहरु लिएर आउन सहकारीले शेयर सदस्यहरुलाई सूचना गरेको छ ।
बागलुङ नगरपालिकाका चार वडा र जैमिनी नगरपालिकाका केही वडामा शेयर सदस्य रहेको संस्थाले फरक फरक दिनमा फरक स्थानमा भेला आयोजना गरेको छ । ‘संचालक सदस्यहरु र कर्मचारी पुग्नुपर्ने भएकाले एक ठाउँमा भेला भएपछि केहि दिन बिताएर अर्को ठाउँमा पुग्ने भनेका छौं’ सहकारीका अध्यक्ष इन्द्र प्रसाद शर्माले भने ‘हामी त्यहाँ पुग्दा जोखिम नबढोस् भन्ने मान्यता हो ।’ दशौं वार्षिक साधारणसभाको लागि सदस्यहरूको उपस्थिति शनिबारबाट खुल्ला गरिएको संस्थाले जनाएको छ ।
पहिलो दिन बागलुङ नगरपालिका वडा नं. १२ को पृथ्वी हिरण्य मावि अमलाचौरमा आसपासका सदस्यहरु शनिबार भेला भएका थिए । मंसिर १५ गरे अमलाचौरकै अर्को टोल उपल्ला सरंगीमा साधारणसभा हुने छ । मंसिर १७ गते बागलुङ नगरपालिका वडा नं. १३ पैञ्युपाटाको धर्मशाला र २० गते सोही वडाको लम्सालचौरमा साधारणसभा हुनेछ ।
सहकारीको मुख्य कार्यालय रहेको नारायणस्थानमा समेत टोल अनुसार शेयर सदस्यलाई डाकिएको उनले बताए । २२ गते भगवती मन्दिर नारायणस्थान र २४ गते जनताधन माविमा साधारणसभा हुनेछ । टोलमा हुने घुम्ती सभामा छुटेका शेयर सदस्यहरुलाई मंसिर २७ गतेसम्म कार्यालय समयमा उपस्थित भएर वार्षिक प्रतिवेदनमाथि लिखित राय सुझाव दिन सहकारीले सूचना गरेको छ ।
‘महामारी आयो भनेर हात पट्याएर बसेर हुन्न, समय अनुसारका विधि अपनाउनु पर्छ’ शर्मा भन्छन् ‘संस्थालाई चलायमान राख्ने र उद्देश्य अनुसार चलाउन सदस्यहरुबीच वार्षिक भेटघाट अपरिहार्य छ ।’ वार्षिक रुपमा संस्थाले दिने सुविधा उपभोगका लागि सहज वातावरण बनाउनसमेत घुम्ती साधारणसभा गरिएको प्रबन्धक पौडेलले बताए । महामारीमा साधारसभा गर्ने कार्यविधि बनाएर सहकारीले साधारणसभा गरेको हो ।





