बागलुङ, १८ मंसिर– अघिल्लो बर्ष सुन्तलाबाट मनग्ये कमाइ गरेका बागलुङ नगरपालिका १० भकुण्डेका देबीराम थापाको बारीका सुन्तला अहिले बिक्री भएका छैनन् । अधिकांस सुन्तला नपाक्दै पहेलिएका छन् । खोल्साएर हेर्दा किरैकिरा छन् ।
बारीभरी झरेका सुन्तला टिपेर खाल्डोमा पुर्नुपर्दा उनी निरास छन् । ‘पहिला डोको लिएर आउनेलाई धमाधम बिक्री गरिन्थ्यो, अहिले दिनदिनै डोकोभरीका सुन्तला खाल्डोमा पुर्नु परेको छ’ उनले भने, ‘के रोग आयो, हामीलाइ सखाप पार्ने भयो ।’
भकुण्डेमा मात्र यो समस्या होइन, वडा नं. ८ को सिगाना र वडा नं. ९ को तित्याङमा पनि उस्तै समस्या छ । अघिल्लो बर्ष सिगानाका किसानले मात्रै २ करोड बढीको सुन्तला बिक्री गरेका थिए । यो बर्ष भने किसानले मूल्य नपाउने समस्या भएको गुनासो बढेको छ । ‘सयौं बिरुवा सुन्तला छन्, पहेलिएर झरेपछि न खेतीपाती भयो, न सुन्तलाबाट कमाइ भयो’ बानपा ८ सिगानाका टोपबहादुर खड्काले भने, ‘यो बर्ष किसानको लगानी मात्र हैन बर्षभरी कमाइ खाने बाटो पनि बन्द हुनेभयो ।’ सुन्तलाकालागि खड्का सहित यहाँका किसानले सयौं रोपनी धानखेत मासेका थिए ।
बागलुङ नगरपालिकाले तीन बर्षदेखि सिगानामा सुन्तला पकेट क्षेत्र बनाउन ५०हजार बढी बिरुवा रोप्दै आएको छ । नगरपालिका र किसानको लगानीमा ती बिरुवा रोपिएको हो । दुइ बर्ष सम्म सिगानामा सुन्तला महोत्सव समेत भएको थियो । यो बर्ष भने महोत्सव पनि आयोजना नगरिएको उनले बताए । खड्काले मात्रै बर्षमा ४देखि ५ लाख सम्मको सुन्तला बिक्री गर्दै आएका थिए । सिगानामा दुइवटा सुन्तला भण्डार केन्द्र पनि स्थापना गरिएको छ । किसानले भण्डारन गरेको सुन्तला फागुन चैतमा बेचेर फाइदा कमाउने गरेका थिए ।
बागलुङको काठेखोला गाउँपालिका र जैमिनीमा पनि सुन्तलाको हा“गा समेत मर्ने समस्या भएको किसानले गुनासो गरे । ‘सुन्तला सहित भोगटे र निबुवा लगायतका अमिलो प्रजातीमा पनि किरा पर्ने समसय छ’ काठेखोला गाउ“पालिका वडा नं. ६ का युक्तप्रसाद कंडेलले भने, ‘सुन्तलाबाट गाउँमा समृद्धि भित्राउन खोजेका किसानको गासमा ढुंगा लागेको छ ।’ प्राविधिकहरु खोजेर देखाएपनि यो बर्षको उत्पादन भने आधाबढी घाटा हुने उनले गुनासो गरे । समयमै औषधिउपचारको व्यवस्थापन गरेमा किरा बाट बचाउन सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना म्याग्दीका प्रमुख सुधिर थापाले बताए । ‘किसानले गुनासो गरेको अबस्थामा प्राविधिक पठाएर उपचारमा साथ दिएका छौं, तर ढीला थाहा भएकोले क्षति भएको देखियो’ थापाले भने, ‘कर्मचारी अभावले भनेको बेला किसानको गुनासो सम्बोधन गर्नपनि सकिएको छैन ।’ जिल्लामा कृषि कार्यालय र प्राविधिक नभएकोले किसानले समस्या समाधान गर्न नसकेको खड्काको भनाइ छ । किरा परेर झरेका सुन्तला समयमै व्यवस्थापन गर्न नसके अर्को बर्षपनि समस्या हुने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले बताए । ‘झरेका सुन्तला समयमै व्यवस्थापन गर्न किसानलाई आग्रह गरेका छौं’ उनले भने,‘राम्रो अध्ययन गरेर आगामी बर्ष राम्रोउत्पादन गर्न सहयोग गर्छौ ।’





