बेनी, १९ मंसिर– म्याग्दीमा यसवर्ष सुन्तला उत्पादन घट्ने भएको छ । चाईनीज सिडरस फुड फ्लाई (औंसा) नामक किराको प्रकोपका कारण सुन्तला उत्पादनमा कमी आउने देखिएको हो ।
सुन्तलाको बोटमा औंसा किरा लागेर फल पहेंलोहुँदै झर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं. ३ भकिम्लीको राखु, मरेक तथा वडा नं. ४ सिंगाको बास्कुना, सुर्केमेला, थामडाँडासहित मंगला र मालिका गाउँपालिकाको विभिन्न वडामा लगाइएको सुन्तला खेतीमा औंसा किराको प्रकोप देखिएको छ ।
रोग किराको प्रकोपका कारण बोटमा लागेको दाना ठूलो भएपनि यसवर्ष विगतको तुलनामा सुन्तला उत्पादन घट्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । सुन्तलाको बोटमा औंसा किरा लागेर पाक्न लागेको सुन्तला झरेपछि समस्यामा परेको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले गुनासो गरे । ‘किराले सखाप पारेको छ, धेरै कृषकले क्षति बेर्होनुपरेको अवस्था छ’ उनले भने ।
अधिकांश कृषकको बोटमै सुन्तला झर्न थालेको हुँदा उत्पादनमा कमी आउने उनले बताए । गतवर्ष बास्कुना–सुर्केमेला र थामडाँडा क्षेत्रबाट मात्रै ४० लाखको सुन्तला बिक्री भएको थियो । बास्कुना, सुर्केमेला र थामडाँडा क्षेत्रमा मात्रै ७० घरधुरीले २० हजार बोट सुन्तला लगाएका छन्भने तीमध्ये ७ हजार बोटले उत्पादन दिएको छ ।
बास्कुना क्षेत्रमा उत्पादित सुन्तला बास्कुना कृषि सहकारीमार्फत बिक्री वितरणको व्यवस्था मिलाइएको छ । प्रतिकेजी ६५ रुपैयाँ मूल्य तोकिएको सुन्तला बिक्रीबाट उत्पादनको २ प्रतिशत रकम सहकारीलाई दिनेसमेत सहमति भएको सन्दिप खत्रीले बताए । यसपटक बास्कुनामा ‘ए’ र ‘बि’ ग्रेडका मात्रै सुन्तला रहेका छन् ।
नबलपरासीलगायतका जिल्लाबाट सुन्तला खरिद गर्न ठेकेदारहरुले सम्पर्क गरेर बोटमै आउने गरेको खत्रीको भनाई छ । उनले आफ्नो बगैंचाबाट ६ लाखका सबै सुन्तला बिक्री गरेको बताए । बास्कुनाका कृषकहरुले सुन्तला ठेक्कामा बेच्दै आएका छन् । सुन्तलाको बोटमा औंसा किरा लागेका कारण यसपटक २० प्रतिशतले सुन्तला उत्पादन घट्ने ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । सुन्तलामा रोग किराको प्रकोप देखिएपछि आफूले स्थलगत रुपमा अनुगमन गरेको बताउँदै उनले किरा लागेर झरेको दानालाई संकलन गर्न किसानहरुलाई प्लाष्टिक सहयोग गरिएको जानकारी दिएका छन् ।
औंसा किरा जुनारपछि सुन्तला खेतीमा लागेको हुँदा झरेका सुन्तला संकलन गरी व्यवस्थापन गर्न किसानहरुलाई आग्रह गरिएको उनले बताए । रोग, किराको प्रकोप तथा यसवर्ष अत्यधिक वर्षाका कारण गुणस्तरमा कमी आएको हुँदा सुन्तला उत्पादन घट्ने कृषि प्रसार अधिकृत पाण्डेको भनाइ छ ।
रोग तथा किराको उपचार गर्न आगामी दिनमा सुन्तला उत्पादक किसानहरुको बगैंचा र बोटमा प्रोटिन बेट (खाद्य पासो) थापेर औंसा किराको नियन्त्रण गर्न किसानलाई तालिम समेत दिने तयारी भइरहेको छ ।
म्याग्दीको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुँदै आएको छ । जिल्लाको ६ वटै स्थानीय तहको ७ सय १० हेक्टर जमिनमा सुन्तला खेती भइरहेकोमा यसवर्ष २ सय ८० हेक्टरबाट २ हजार ३१० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । जिल्लामा वार्षिक १७ करोड हाराहारीमा सुन्तला बिक्री हुने अनुमान गरिएको कृषि केन्द्रले जनाएको छ ।





