बागलुङ, १९ मंसिर– कोरोनाको कहर छल्दै चितवनका एक हुल युवाहरु बागलुङको पञ्चकोट घुम्न आए । उनीहरुले दुई दिन बागलुङ र पर्वतका पर्यटकीय स्थल घुमेर फर्केका छन् । बागलुङ कालिका, अग्लो पुल, बञ्जीजम्पजस्ता स्थल घुमेर उनीहरु आइतबार चितवन फर्केका छन् ।
बागलुङ बजारका युवाले तिहारकै अवसरमा गलकोट र ढोरपाटनसम्मका क्षेत्रको भम्रण गरे । उनीहरुले ताराखोलाको गाइघाट झरना पनि घुम्न भ्याए । ‘तिहारमा देउसी भैलो पनि भएन, समय कटाउनका लागि गाइघाट झरना घुम्न गयौं’ होटल संघ बागलुङका अध्यक्ष निलेस राजभण्डारीले भने, ‘कोरोना छल्दै पर्यटकीय क्षेत्रको पनि मज्जा लियौं ।’
उनीहरुजस्तै दर्जनौं टोलीले बागलुङको हाडीकोटदेखि गाइघाट र ढोरपाटनसम्म पुगेर सामाजिक संजालमा तस्बिर सार्वजनिक गरेका छन् । कोरोना संक्रमणको जोखिमले सुस्ताएका पर्यटकीय स्थलमा आन्तरिक पर्यटक बढ्न थालेको यो संकेत हो ।
ती पर्यटकीय स्थलमध्ये अहिले सबैभन्दा धेरै ताराखोला गाउँपालिकाको गाइघाट झरना र गलकोटस्थित मुर्तिकला कार्यशाला स्थल सबैको रोजाइमा परेका छन् । कोरोना संक्रमणको जोखिमका बीच पनि यात्रा गर्नेले यो झरना पुग्ने र केही समय भुल्ने गरेका हुन् ।
‘सामाजिक दुरी कायम राख्ने, पर्यटकीय स्थल घुम्ने योजनाका साथ गयौं’ राजभण्डारीले भने, ‘मौषम खुलेकोले अघिल्लो वर्षको तुलनामा धेरै स्थान आर्कषक देखिए ।’ पर्यटकको आगमनले ग्रामीण बस्तीमा चहलपहल पनि देखिएको ताराखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष यामबहादुर श्रीषले बताए ।
शनिबारको फुर्सद मनाउनेदेखि चाडपर्वमा घर आएकाहरु एकपटक पुग्ने गन्तव्यको रुपमा यो झरना चिनिएको छ । ‘फुर्सदको समयमा एकपटक पुगौं भनेर मोटरसाइकल लिएर गयौं’ बागलुङ नगरपालिका वडा नं. ८ सिगानाका सुमन जिसीले भने, ‘जतिपटक गएपनि हेर्ने धोको पुरा हुँदैन ।’
प्रकृतिक झरना र मनोरम दृश्यले पटक–पटक तानेको उनले बताए । गतवर्ष सयौं पर्यटक पुगेको यो झरनामा कोरोना संक्रमणको डरले आधा पर्यटक घटेका थिए । कात्तिक र मंसिरमा भने पुरानै अवस्थाझै मानिस जान थालेको श्रीषले बताए । ‘शुन्य हुन्छ होला भनेको, आउने क्रम रोकिएकै छैन’ गाउ“पालिका अध्यक्ष प्रकाश घर्तीले भने, ‘व्यवस्थित रुपमा घुम्ने र सुरक्षित रुपमा फर्कने व्यवस्थापनमा लागेका छौं ।’
गलकोट नगरपालिकाको कार्यालयदेखि २० मिनेटमा जिपको यात्राबाट गाईघाट झरना पुगिन्छ । दुई पालिकको सिमानामा भएपनि ताराखोलाको वडा नं. १ मा पर्ने भएकोले गाउँपालिकाले यसको व्यवस्थापन गरेको छ । ‘पहिला सामान्य झरना थियो, अहिले व्यवस्थापन गरेर आर्कषक बनाइएको छ’ स्थानीय बालकुमारी क्षेत्रीले भनिन्, ‘पहरा र झरना हेर्न पर्यटक आउने रहेछन् भन्ने यो पहिलो उदाहरण हो ।’ उनले पनि शनिबारको फूर्सदमा बालबालिकालाई यहाँ घुमाउन लैजाने गरेको सुनाइन् ।
‘हरेकलाई स्वास्थ्य मापदण्ड पालना गर्न पनि लगाएका छौं’ उनले भने, ‘महत्वपूर्ण गन्तव्यको रुपमा धेरैले लिने गरेकोले आउने क्रम भने निरन्तर छ ।’ पहाडको स्वच्छ पानीको झरनामा पुगेर आनन्द लिनेहरु बढेको उनले बताए ।
शुल्कलाई पुन व्यवस्थापन गरेर सरसफाई खर्चको जोहो गर्ने योजना भने बनाइएको श्रीषको भनाई छ । ‘यहाँ आएका पाहुनालाई खानेबस्ने होटल र रेष्टुरेन्ट खोल्न पहल गर्ने, पार्क र पौडी पोखरी निर्माण गर्ने योजना पनि छ’ घर्तीले भने, ‘मुहान संरक्षण गरेर झरनाको आर्कषण थप्ने गुरुयोजनामा समावेश गरिएको छ ।’





