सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

तंग्रिदै भकुण्डेको पर्यटन

तंग्रिदै भकुण्डेको पर्यटन

भ्यू–टावर घुम्न जानेहरु चिया, पानीको लागि मात्रै भएपनि घरबासमा पस्छन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०७७, सोमबार

बागलुङ, २२ मंसिर– सदरमुकाम बागलुङ बजारमा आएका पर्यटकको लागि अग्लो डाँडामा पुगेर प्रकृति हेर्न मन लाग्यो भने नजिकैको गन्तव्य हो भकुण्डे भ्यू–टावर । सामुदायीक घरबासको गाउँ भनेर चिनिने भकुण्डे गाउँ पुगेका अधिकांश आन्तरिक पर्यटक भ्यू–टावर पुग्छन् ।
बिहानै देखिने सूर्योदयको दृष्यदेखि साँझ सुर्य ढल्ने बेला छितिजहरुमा देखिने मनमोहक दृष्यले आन्तरिक पर्यटक लोभाउने गरेको छ । भकुण्डेमा भ्यू–टावर र त्यहाँको घरबासको आनौठो संयोग छ । भ्यू–टावर पुग्नका लागि हिँडेका पर्यटकका लागि यहाँका घरबासले आधार दिन्छन् ।
आन्तरिक होस वा बाह्य पर्यटक गाउँ पुगे भने यहाँका घरबास सञ्चालकहरु स्वागत गर्न आतुर हुन्छन् । भकुण्डेको पुरानो अतिथी सत्कार सामुदायीक घरबासका अध्यक्ष खिम बहादुर थापा त भकुण्डे पुग्ने जो–कोहीलाई स्वागत गर्न पुग्छन् । घरबास, स्थानीय उत्पादन र भ्यू–टावरको संयोजनले चलायमान रहेको भकुण्डे पछिल्लो ६ महिना सुनसान रह्यो ।
पाहुनाका लागि भनेर बनाईएको मुलाको सिन्की कामै नलाग्ने भयो । स्थानीय जातका कुखुरा बुढिएका छन् । कोदोको पिठोमा चिलेसा पर्ने बेला भो । कोरोनाले देशका अन्य क्षेत्रमा जस्तै भकुण्डेको पर्यटनमा पनि प्रभाव पा¥यो ।
‘कहिले सजिलो होला जस्तो भयो, पाहुना डाक्न आतुर हुने हामीहरु कोही आउँदा पनि के हुन्छ जस्तो लाग्यो’ घरबास सञ्चालक चन्द्रबिर थापाले भने ‘महामारीले चौपटक बनायो ।’ कोरोना महामारी रोक्न गरिएको लकडाउन खुलेको लामो समयपछि भकुण्डेमा फेरी चहलपहल देखिन थालेको छ । घरबास सञ्चालकहरुकै बिचमा गण्डकी प्रदेश सरकारले भकुण्डेमा पुगेर कार्याशाला ग¥यो ।
आन्तरिक पर्यटकहरु छिटफुट पुग्न थालेका छन् । भ्यू–टावर घुम्न जानेहरु चिया, पानीको लागि मात्रै भएपनि घरबासमा पस्छन् । ‘हामीले अब पेशानै यहि हो भनेर लाग्यौं, मान्छेलाई नै संका गर्नुपर्ने अवस्था आएपछि व्यवसाय चौपट भयो’ घरबासका अध्यक्ष खिम बहादुर थापाले भने ‘अब फेरी भकुण्डे बौरिन्छ ।’ यहाँका घरबास सञ्चालकले स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकका लागि घरबास खुल्ला गरेका छन् ।
भ्यू–टावर घुम्नका लागि समेत सामाजिक दुरीको ख्याल गर्दै पुग्न आग्रह गर्छन् । ‘हामी बुढापाकाले मात्रै सुरु गरेको घरबासमा विस्तारै युवाहरु आकर्षित हुँदै थिए, अहिलेसम्म धेरै परिवर्तन हुन्थ्यो’ थापा भन्छन् ‘पाहुनाका लागि कोशेली, स्थानीय संस्कृतिको प्रदर्शन गर्ने तयारीलगायतका काम समेत अल्झिए ।’
लामो समय एक घरबाट अर्को घर पुग्न नपाएका कारण पनि आपसी सल्लाह गर्न नपाएको उनको गुनासो थियो । भकुण्डेमा अब घरबास, स्थानीय खानाको स्वाद, भ्यू–टावर र सूर्योदय तथा सूर्यास्तको अलवा उद्यानको समेत प्रबन्ध हुँदैछ । भ्यू–टावर रहेको अघिपट्टिको टापुमा लखन थापाको शालिकसहितको उद्यान निर्माणको तयारी थालिएको थापाले बताए ।
‘हामीले पर्यटनमा भविश्य देखेका छौं, यसलाई राम्रो व्यवसाय बनाउन चाहन्छौं’ स्थानीय यामबहादुर थापा भन्छन् ‘भकुण्डे चिनारीसहितको घरबासको गाउँ हुन्छ ।’ सरकारले घरबासको मापदण्ड तोकीदिएपछि भकुण्डेमा घरबासहरु थपिने क्रम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->