बागलुङ, २२ मंसिर– लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भैरहेकै बेला वक्ताहरुले विभेदरहित समाज निर्माणका लागि सहकारीको भुमिका महत्वपूर्ण रहेको बताएका छन् ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुसँग छलफलका लागि आयोजना गरेको विस्तारित मञ्चमा सहभागीहरुले यस्तो बताएका हुन् । सहकारीको ११ औं वार्षिक साधारणसभाको कार्यक्रमअन्तर्गत केन्द्रीय कार्यालय सेवा क्षेत्रभित्रका सदस्यहरुलाई लक्षित गरी विस्तारित मञ्च आयोजना गरिएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले समाज परिवर्तनमा सहकारी छुट्टै पहिचान स्थापित गरेको बताए । शोषणरहित समाज निर्माणमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको औल्याउँदै पौडेलले सिवाईसीले पुँजी परिचालनमार्फत आर्थिक गतिविधिहरुलाई सशक्त ढंगले अगाडि बढाएको बताए ।
कार्यक्रममा सहकारीका पूर्व सल्लाहकार डा. तरुण पौडेल, शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याय, सल्लाहकार बेद प्रसाद शर्मा, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, शेयर सदस्य सकुन्तला शर्मा, थानेश्वर सुवेदीले बोलेका थिए ।
सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गण्डकी थापा अधिकारी र संचालन सह–सचिव सुवास आचार्यले गरेका थिए ।
वार्षिक प्रगति तथा आगामी कार्ययोजना सम्बन्धमा सदस्यहरुसँग छलफल गर्न आयोजित विस्तारित मञ्च मंसिर १५ गतेबाट सुरु भई सम्पन्न भएको हो । संस्थाको साधारणसभा मंसिर २५ गते आयोजना गरिएको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए ।





