मुस्ताङ, २६ मंसिर– मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट ‘गण्डकी प्रदेशः उज्यालो प्रदेश अभियान’को औपचारिक सुरुवात गरिएको छ । प्रदेशलाई उज्यालो प्रदेश बनाउने प्रदेश सरकारको पहिलो घोषणा हो । यद्यपि, हालसम्म पनि गण्डकीमा टुकीको भरमा बस्न बाध्य छन् । घोषणा अनुसार काम भएको भए गण्डकी अघिल्लो वर्ष नै उज्यालो प्रदेश बनिसक्नुपथ्र्यो ।
राष्ट्रिय विद्युत प्रशारण लाइन नपुगेको हिमाली जिल्ला मुस्ताङको विभिन्न तीन गाउपालिकामा चार सय सोलार जडान गरी उज्यालो गण्डकी प्रदेशको घोषणा अभियान सुरु गरिएको हो । मुस्ताङको लोमन्थाङ गाउपालिका, लो घेकर दामोदर कुण्ड गाउपालिका र बारागुङ मुक्ति क्षेत्रमा रहेका गाउँहरु जहा स्थानीय लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत लाइन समेत पुग्न नसकेको ४ सय घरधुरीमा सोलार जडान गरी उज्यालो गण्डकी प्रदेश घोषणा गरिएको हो । लोमन्थाङको अर्का गाउँबाट गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले उज्यालो गण्डकी प्रदेश घोषणा अभियानको सुरुवात गरेका हुन् ।
लोमन्थाङ गाउपालिकाको १,२,३ र ४ को छोसेर, अर्का, सम्जुङ, भर्चा, न्यानोल, ढुक, ठिंगर, फुवा, नाम्ग्याल, किम्लिङ, न्याम्डो, चुङजुङ, लो घेकर दामोदर कुण्ड गाउपालिकाको ५ नम्बरमा पर्ने ताङग्या र ध्ये र बारागुङ मुक्तिक्षेत्र गाउपालिकाको साङता गाउँको गरी ४ सय घरधुरीमा केन्द्रीय प्रशारण लाइन र स्थानीय लघुजलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत लाइन पुगेको छैन ।
सो अवसरमा बोल्दै मन्त्री बस्नेतले अबको दुई वर्ष भित्रमा गण्डकी प्रदेशलाई उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने उद्देश्य अनुरुप सरकार अगाडी वढेको र राष्ट्रिय प्रशारण लाइन पु¥याउन नसकिने गाउँहरुमा हाललाई सोलार बत्तीबाटै घरमा उज्यालो बनाउने उद्देश्य रहेको र सोही अनुरुप हिमाली जिल्ला मुस्ताङको अर्का गाउबाट उज्यालो गण्डकी प्रदेशको शुभारम्भ गरिएको उनको भनाइ रहेको थियो ।
प्रदेश सरकारको ७५ र स्थानीयको २५ प्रतिशतमा सोलार जडान गरिएको हो । भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित भएको ६८ लाख ६१ हजार लागतमा मुस्ताङको ४ सय घरधुरीमा सोलार जडान गरिएको हो । गत् आर्थिक वर्षमा नै सोलार जडान सम्पन्न गर्ने लक्ष्य प्रदेश सरकारको भएतापनि कोभिडका कारण ढिलाई भएको मन्त्री बस्नेतले वताए । २०७४ फागुन ४ गते प्रदेश सरकारको पहिलो निर्णय नै गण्डकी प्रदेशको ११ वटै जिल्लामा बत्ती पु¥याउने लक्ष्य रहेको उनले पनि स्मरण गरे । मुस्ताङबाट सोही अभियान सुरु भएको उनको भनाई थियो ।
मन्त्रालयका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्रालय जलश्रोत तथा उर्जा महाशाखा प्रमुख हरिदत्त पौडेलले राष्ट्रिय प्रशारण लाइन पु¥याउने लक्ष्य अनुसार सम्भव नभएपछि सौर्य उर्जा जडान गरि विकटका गाउँहरुमा बत्ती पु¥याइएको बताए । विद्युत प्राधिकरणको सहकार्यमा नै विकटका बस्तीहरुमा सौर्य उर्जा जडानको काम गरिएको उनको भनाइ रहेको थियो ।
पौडेलका अनुसार प्रदेशभर ११ सय ५ घरधुरीमा सोलार बत्ती जडान गर्ने काम भइरहेको र यसका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । अहिलेसम्म प्रशारण लाइन नपुगेको मनाङ, म्यादी र गोरखाको हिमाली क्षेत्रमा सोलार बत्ति जडान गरिने प्रदेश सरकारको लक्ष्य रहेको छ । प्रवक्ता पौडेलका अनुसार गोरखाको धार्चे र चुम्नुब्री गापामा ४ सय ६०, म्याग्दीको धवलागिरी गापामा एकसय २० र मनाङको नार्पाभूभि गापामा एकसय २५ वटा सोलार जडान गरिनेछ । यसको लागि मन्त्रालयबाट मनाङमा २० लाख ६८ हजार, म्याग्दीमा २० लाख ७३ हजार र गोरखामा ८० लाख रुपैया विनियोजन गरेको छ ।
उज्यालो प्रदेश घोषणा मुस्ताङबाट गरेकोमा मुस्ताङको उपल्लो क्षेत्रबाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले प्रदेश सरकार गठनसँगै आफ्नो क्षेत्रमा विकासका लहरहरु छाएको वताए । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले विकासको काममा कसैले पनि आफ्नो अर्काको राजनैतिक आक्षेप नलगाइकन एकजुट भएर लाग्नुपर्ने बताएको पत्रकार गीता रानाले जनाए ।





