बागलुङ, २६ मंसिर– बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले राज्यले सहकारीलाई अर्थव्यवस्थाको पहिलो खम्बा बनाउनुपर्ने बताएका छन् ।
आदर्श संचार सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सहकारी मात्रै सामाजिक विभेदरहित काम गर्ने संस्था भएको समेत बताए । उनले तीन खम्बे अर्थनीतिले सहकारीलाइ राज्यले स्विकारेको कुरा राम्रो भएपनि सहकारी पहिलो खम्बाको रुपमा चिनिनुपर्ने धारणा राखे ।
‘राज्य र निजी क्षेत्र निरंकुश पनि बन्छ, विभेद गर्ने पनि बन्छ, तर सहकारी मात्रै सामाजिक विभेदबाट टाढा रहन्छ’ उनले भने, ‘अर्थव्यवस्थामा ठूलो हिस्सा ओगटेर पनि सामाजिक न्याय दिने सहकारीलाई पहिलो खम्बा मान्नुपर्छ ।’ कृषि, पशुपालन, साना व्यवसाय, शिक्षा, स्वास्थ्य र रोजगारीमा सहकारीको भूमिका अग्रणी भएको उनले बताए । नेपालका अधिकांस सहकारीले महिला हिंसाविरुद्ध काम गरेको, महिलालाई जागरण अभियान चलाएको र नेतृत्वमा पनि ल्याएकोले सहकारीको योगदानबाट पछि हट्न नसकिने समेत धारणा राखे ।
आदर्श संचार सहकारी संस्थाले ७ वटा समूह बनाएर साधारणसभा संचालन गर्दै आएको छ । २ हजार २ सय ५० शेयर सदस्य रहेको सहकारीले ३८ करोडको कारोवार गरेको बताइएको छ ।
सहकारीकी अध्यक्ष हुमाकुमारी जिसीको अध्यक्षता, पत्रकार सिर्जना पन्तको संचालन र सचिव ललिता थापाको स्वागतमा सम्पन्न साधारणसभा सचिव थापाले प्रगती प्रतिवेदन र कोषाध्यक्ष पूर्णबहादुर कार्कीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । उक्त अवसरमा सहकारीका सम्पादक रामबहादुर जिसी, ओम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्रबहादुर महत, सल्लाहकार डिलबहादुर कार्की, लेखासमितिका संयोजक थानेन्द्र गौतमलगायतले मन्तव्य राखेका थिए ।





