बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा बन्दै विश्वकै दोस्रो लामो जीपलाईन

पर्वतमा बन्दै विश्वकै दोस्रो लामो जीपलाईन


  • संजय रेग्मी
  • मंसिर २७ २०७७, शनिबार

पर्वत, २७ मंसिर– साहसिक खेलका तीव्र विकास भइरहेको पर्वत जिल्लामा विश्वकै दोस्रो लामो जीपलाईन बन्ने भएको छ ।
विश्वकै दोस्रो अग्लो दाबी गरिएको बन्जी जम्प रहेको नजिकै कुस्मा नगरपालिका–५ चाक्लेको डिलबाट साउने बगरसम्म १४ सय मिटर लम्बाइको जीपलाईन निर्माण गर्न लागिएको हो । यो जीपलाईन सुपर म्यान शैलीमा निर्माण गर्न लागिएको भारतीय निर्माण कम्पनी श्याम जीपलाईनका इन्जिनियर नबिन मेस्सीले बताए ।
‘यहाँको जीपलाई सुपर म्यान शैलीको बनाउन लागिएको छ । क्लासिक जीपलाईनमा कुर्चीमा बसे जस्तै गरेर डोरीमा बगिन्छ भने सुपर म्यानमा सुपर म्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ ।’ उनले भने, ‘यहाँबाट नजिकको जीप लाईन पोखरामा रहेको छ। त्यहाँको जीपलाईन क्लासिक हो जसको लम्बाई १८ सय मिटर छ ।’
क्लासिक जीपलाईनमा पोखराको जीपलाईनको लम्बाई कुस्मामा बन्दै गरेको हार्नेस जीपलाईन प्रा.लि.को भन्दा बढी हुने भए पनि सुपर म्यान शैलीमा पर्वतको जीपलाईन विश्वकै दोस्रो लामो बन्ने भएको हो । सुपर म्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जीपलाईन दुबईमा रहेको छ । जसको निर्माण अमेरिकी कम्पनीले गरेको थियो ।
इन्जिनियर मेस्सीका अनुसार पर्वतको जीपलाईनमा एकै पटकमा दुई जना सँगै झुन्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । हावाको गति र खेलाडीको तौलमा जीपलाईनको गति भर पर्ने भए पनि जीपलाईनमा यात्रा सुरु गर्दा प्रतिघण्टा एक सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने उनको भनाई छ । कालीगण्डकी नदीको सतहबाट दुई सय ३८ मिटरको उचाइबाट यात्रा सुरु हुने छ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुने छ । जीपलाईनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्ने छ । खेलका क्रममा खेलाडी जोखिममा परेर उद्धार गर्नुपर्ने भएमा एक मिनेटभित्रमा उद्धार गरिने इन्जिनियर मेस्सीले बताए ।
‘खेलाडीलाई उद्धार गर्नुपर्ने भएमा एक मिनेट भित्रैमा रेस्क्यू गर्न सकिन्छ । त्यसका लागि आवश्यक तयारीको योजना बनाएका छौँ ।’ उनले भने, ‘यो जीपलाईनमा भारतमा बनेको घिर्नीको प्रयोग नगरी क्यानडामा बनेको प्रयोग हुँदै छ ।’ उनका अनुसार अबको पाँच महिना भित्रमा निर्माण कार्य पूरा हुने छ ।
जीपलाईनका एक जना लगानीकर्ता कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कुस्मामा बन्ने जीपलाईनले कालीगण्डकी नदीलाई दुई ठाउँमा नाघेर जाने भएकोले अन्यत्र ठाउँमा रहेका जीपलाईन भन्दा पर्वतको जीपलाईनमा पर्यटकहरूको आकर्षण बढी हुने बताए । जीपलाईन नजिकै अर्को साहसिक खेल बन्जी जम्प रहेकाले त्यहाँ आउने पर्यटकहरूले कालीगण्डकी नदी माथिको जीपलाईनको पनि अनुभव गरेर फर्किने उनको भनाई छ ।
‘पर्वत जिल्ला अब साहसिक खेलहरूको जिल्लाका रूपमा चिनिन थालेको छ । बञ्जीजम्प, स्काई साइक्लिङ, रक क्लाइम्बीङ रहेको यो ठाउँमा अब विश्वकै दोस्रो लामो सुपर म्यान जीपलाईन बन्ने भयो ।’ उनले भने, ‘यसले पर्वत जिल्ला सहित बागलुङ र म्याग्दी जिल्लामा पनि पर्यटकहरु तान्न सहयोग गर्छ । मुस्ताङको साहसिक यात्रा गरेर आउनेहरूलाई जीपलाईनले कुस्मामा आकर्षण गर्छ ।’ उनका अनुसार जीपलाईनको गन्तव्य रहेको साउने बगरमा रिसोर्ट समेत बनाइने भएको छ । जीपलाईनमा रमाउन आउने पाहुनाहरूलाई खान बस्नको सुविधा त्यही रिसोर्टमा हुने छ ।
जीपलाईन, रिसोर्ट र अन्य साहसिक खेल निर्माणको लागि प्रारम्भिक रूपमा ११ करोड खर्च लाग्ने अनुमान गरिएको छ । जसमा नगरप्रमुख जोशी सहित, नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी, विदुर पौड्याल, सूर्यबहादुर क्षेत्री र सुनिल बानियाले लगानी गर्ने भएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->