बागलुङ, २७ मंसिर– बागलुङको ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम शिलान्यास भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले औद्योगिक ग्रामको शनिबार शिलन्याश गरेका छन् ।
ताराखोला गाउँपालिकामा शिलन्याश भएको औद्योगिक ग्राम पूर्वाधार निर्माण थाल्ने दोस्रो औद्योगिक ग्राम हो । प्रदेश सरकारको सहयोगमा आगामी असार मसान्तसम्म काम सम्पन्न हुनेगरी औद्योगिक ग्रामका लागि आवश्यक पूर्वाधारहरु निर्माण हुनेछन् ।
सडक, पर्खाल, विद्युत, खानेपानी, शौचालयलगायतका संरचना औद्योगिक ग्रामका लागि तयार गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले बताए । शिलन्याश गर्दै मन्त्री लम्सालले गाउँ गाउँमा साना तथा मझौला उद्योगहरुको स्थापना गरेर उत्पादन बढाउन प्रदेश सरकारले लगानी गरिरहेको बताए ।
औद्योगिक ग्राम निर्माणपछि व्यवसायीक वातावरण बन्ने भन्दै मन्त्री लम्सालले युवाहरुलाई व्यवसायमा आकर्षित गरेर रोजगारी सिर्जनाको वातावरण बनाउनुपर्ने बताए । शिलन्याश कार्यक्रममा संविधानसभा सदस्य नरबहादुर थापा, प्रदेशसभा सदस्य चन्द्र बहादुर बुढा, मन्त्रालयका सचिव डा. महेश्वर ढकाल लगायत सहभागी थिए ।
गण्डकी प्रदेश सरकारले पहिलो चरणमा ८५ स्थानीय तहमध्ये २० स्थानीय तहमा उद्योगग्राम निर्माण गर्दैछ । बागलुङका दुई स्थानीय तहमा मात्रै औद्योगिक ग्राम बन्ने छन् । स्याङ्जाको गल्याङ, चापाकोट, पुतलीबजार, वालिङ नगरपालिका र अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिका, तनहुँको भानु नगरपालिका र आबुखैरेनी, ऋषिङ्ग, बन्दीपुर गाउँपालिका, गोरखाको सिरानचोक र शहिद लखन गाउँपालिका, मनाङको चामे गाउँपालिका, लमजुङको राईनास, पर्वतको कुश्मा नगरपालिका र जलजला र बिहादी गाउँपालिका, बागलुङको बाग्लुङ नगरपालिका र ताराखोला गाउँपालिका तथा नवलपरासी (बर्दाघाट सुस्तपूर्व)को बौदीकाली गाउँपालिकामा औद्योगिक ग्राम बन्ने मन्त्रालयले जनाएको छ ।





