बागलुङ, २८ मंसिर– बागलुङको बलेवामा सञ्चालनमा रहेका तीन सहकारी संस्थाबीच एकीकरण भएको छ ।
बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानमा रहेको बलेवा एकता बचत तथा ऋण सहकारी संस्था र धौलागिरि बचत तथा ऋण सहकारी संस्था तथा बागलुङ नगरपालिका पैयुँपाटामा रहेको जयश्री बचत तथा ऋण सहकारी संस्था एकीकृत भएका हुन् ।
एउटै कार्यक्षेत्र र उद्देश्य रहेका सहकारीहरुको एकीकरण भएको संस्थाका सञ्चालकहरुले बताए । एकीकृत सहकारीको नाम बलेवा एकता बचत तथा ऋण सहकारी संस्था कायम गरिएको छ । शनिबार बलेवा एकताको १० औं वार्षिक साधारणसभाका अवसरमा सहरकारीबीच एकता घोषणा गरिएको हो ।
‘अहिले हामी एक भएको घोषणा गरेका छौं, बाँकी काम हुँदैछन्’ अध्यक्ष इन्द्रप्रसाद शर्माले भने ‘हामी थप बलियो भएका छौं ।’ एकिकृत सहकारीको शेयर सदस्य संख्या १ हजार ८ सय र कुल शेयर पुँजी एक करोड ८० लाख पुगेको छ ।
कोरोना महामारीका कारण ईकाइगत साधारणसभा गर्दै आएको सहकारीले शनिबार मुख्य समारोह आयोजना गरेको थियो । मंसिर २३ गतेबाट सुरु भएको साधारणसभा सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको छ ।
सहकारीको साधारणसभा उद्घाटन गर्दै बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीले रोजगारीको सिर्जना र पुँजी निर्माणमा सहकारीको भुमिका महत्वपुर्ण रहेको बताए । अध्यक्ष इन्द्रप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष धनबहादुर रोकाको स्वागत र प्रबन्धक भरत पौडेलको संचालनमा सधारणसभा सम्पन्न भएको थियो ।





