मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

गण्डकीका सवै जिल्लामा पर्यटन कार्यालय

गण्डकीका सवै जिल्लामा पर्यटन कार्यालय

एक निर्वाचन क्षेत्र, एक पर्यटन विकास कार्यक्रमलाई २० लाख लगानी ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०७७, आइतबार

बागलुङ, २८ मंसिर– गण्डकी प्रदेश सरकारले प्रदेशका सवै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने भएको छ । पर्यटन प्रवद्र्धनका लागि बुढी गण्डकीदेखि उत्तरगंगासम्मका सवै पर्यटकीय क्षेत्रलाई जोड्ने गरी गण्डकी प्रदेशका ११ वटै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्न प्रदेश सरकार लागेको हो ।
गण्डकी प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालले गण्डकी प्रदेशलाई पर्यटनको राजधानी बनाउने गरी तयारीमा जुटेको बताए ।
एक साता लामो बागलुङ जिल्लाका विभिन्न पालिकाको भ्रमणपछि शनिबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लम्सालले पर्यटनको क्षेत्रमा देखिने गरी काम गर्न खोजेको बताए । ‘पर्यटन प्रवद्र्धनका धेरै क्रियाकलाप गर्ने भनिएपनि कार्यालय छैनन्, त्यसैले उपसचिव तहको कर्मचारीको नेतृत्वमा सवै जिल्लामा कार्यालय खोल्छौं ।’ उनले भने, ‘कार्यालय अभावमा पोखराले काम गर्न भ्याएको छैन ।’ विकास निर्माणको क्षेत्रमा काम गर्नेभन्दा कुरा काट्ने प्रवृत्ति बढेको भन्दै यसका अन्त्यका लागि काम गरेर देखाउने वताए ।
एक गन्तव्यबाट अर्को गन्तव्यमा सडक र पदमार्गले जोड्दा पर्यटकको घुम्ने क्रम बढ्ने, आर्थिक विकास, कृषि र पशुपालनमा समेत सहयोग पुग्ने धारणा राखे । ‘एउटा गन्तव्यबाट अर्कोमा पुग्न पदमार्ग बनाउन लगानी बढाएका छौं’ मन्त्री लम्सालले भने, कोभिडको तनाब अन्त्य गर्न पर्यटन बलियो अस्त्र हो ।’ कोरोनाको संक्रमण कम भएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम सुरु भएको उनले बताए । यसक्रममै मन्त्री लम्सालले बागलुङका ७ पालिकाको भ्रमण गरेका थिए । मंसिर २२ गते बलेवास्थित पैँयुपाटाको पहरेमा प्याराग्लाइडको पूर्वाधार निर्माण शिलान्यासपछि शनिबारसम्म पश्चिम ढोरपाटनदेखि ताराखोलासम्मको अवलोलक भ्रमणमा थिए ।
मन्त्री लम्सालले एक निर्वाचन एक पर्यटन क्षेत्र विकास कार्यक्रमलाई २० लाख रुपैयाँको दरले लगानी गर्ने योजना सुनाए । ‘होमस्टे प्रवद्र्धनबाहेक एउटा निर्वाचन क्षेत्रमा एउटा पर्यटन क्षेत्र विकास कार्यक्रम पनि गर्दैछौं,’ उनले भने, ‘ठूलो लगानीभन्दा व्यवस्थित कामलाई चासो दिएका छौं ।’ उनले होमस्टे प्रवद्र्धनसहित मुख्यमन्त्री कृषि कार्यक्रम पनि सँगै जोडेर लैजाने बताए । शनिबार मन्त्री लम्सालले ताराखोलाका बिभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए ।
त्यसअघि मन्त्री लम्साल ढोरपाटन सिकार आरक्ष, उत्तरगंगा जलबिद्युत आयोजना निर्माणस्थल, सालझण्डी ढोरपाटन सडक, बाढीपहिरो पीडितको बसोबास र पुनस्थापना लगायतका क्षेत्रको भ्रमण गरेका थिए । उनले बडिगाड गाउँपालिकाले निर्माण गर्न लागेको ताल, पदमार्ग र पर्यटन प्रवद्र्धनका गतिविधिमा सहभागी भए । मन्त्री लम्सालले गलकोट नगर अस्पतालको उद्घाटन गरेका थिए भने कोतमैदानको अवलोकन गरेका थिए । उनले भने, ‘होमस्टेमा देखिएका समस्या पनि समाधान गरेर जान्छौं ।’ कतिपय होमस्टेमा अनुदान लगेर व्यक्तिगत घरमा लगानी गरेको भेटिएको टिकाटिप्पणी भएकाले यसको नियमन गर्ने वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->