पर्वत, १ पुस– पर्वतको जलजला गाउँपालिका–७ धाईरिङमा गत असार र साउनमा गएको पहिरो नियन्त्रणको प्रयास थालिएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण यहाँका १८ घर जोखिममा थिए ।
हिउँदको समयमा तार जाली लगाएर पहिरो नियन्त्रणको प्रयास थालिएको हो । गाउँभरि पहिरो गएकाले वडा कार्यालयको पहलमा भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले तारजाली उपलव्ध गराएपछि पहिरो नियन्त्रणको काम सुरु भएकोे वडा अध्यक्ष टुंगनाथ शर्माले बताए । पहिरो नियन्त्रण गर्न कार्यालयले ६५ थान तारजाली उपलव्ध गराएको छ ।
बुधबार कार्यालयले वडा कार्यालयलाई तारजाली उपलव्ध गराएपछि उपभोक्तालाई वितरण गरिएको शर्माले बताए । उनका अनुसार, अति जोखिम रहेको क्षेत्रमा पहिलो चरणमा तार जाली लगाईने छ ।
स्थानीयले श्रमदानमा तारजाली भर्नेछन् । तार जाली लगाएपछि बगिरहेको जमिन रोकिने स्थानीयको विस्वास छ । गाउँभरी पहिरो चलेपछि बिस्थापीत बनेका १८ परिवार बर्षा रोकिएर हिउँद लागेपछि आफ्नो घर फर्किएका छन् ।
तारजाली पाएपछि पीडितहरुले खुसी व्यक्त गरेका थिए । पहिरो नियन्त्रणका लागि कार्यालयले आवश्यक थप सहयोग गर्न तयार रहेको कार्यालय प्रमुख दिवाकर पौडेलले बताए । पौडेल तारजाली लिएर धाईरिङ पुगेका थिए ।





