बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कोरोना कहरकै बीच सडक महोत्सव गर्ने घोषणा

कोरोना कहरकै बीच सडक महोत्सव गर्ने घोषणा

‘व्यवसाय जोगाउन खोज्नु एउटा कुरा होला, मान्छेलाई जीवन जोखिममा राखेर भीडमा नजाऊ भन्नु अर्को कुरा होला । हाम्रो जोड दोस्रोमै छ ।’


  • ढोरपाटन संवाददाता
  • पुष २ २०७७, बिहिबार

पोखरा, २ पुस– कोरोना संक्रमणको उच्च जोखिमकै बीचमा पनि पोखरामा सडक महोत्सव हुने भएको छ । आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एसोसियसन ( रेबान) पोखराले पोखरा पर्यटक स्वागत गर्न तयार छ भन्ने सन्देशसहित आउँदो पुस १५,१६ र १७ गते ‘२२ औं सडक महोत्सव’ आयोजना गर्ने घोषणा गरेको हो । रेबानले गण्डकी प्रदेश सरकारको आड भरोसामा असहज अवस्थामा पनि महोत्सवलाई निरन्तरता दिने हिम्मत जुटाएको हो ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुरक्षाका सबै प्रबन्धसहित महोत्सव आयोजना गर्न सकारात्मक भएसँगै रेबानले स्वीकृतिको लागि गृहमन्त्री रामबहादुर थापा र पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि भेटेको थियो । त्यो भेटमा महोत्सव संचालनलाई स्वीकृति दिने सकारात्मक प्रतिक्रिया आएपछि तयारी थालिएको रेबानका पदाधिकारीहरुले बताएका छन् ।
सडक महोत्सवमा यसअघि थामिनसक्नु भीड हुन्थ्यो । दोहोरीलत्त मान्छेको भीडले सडक छिचोल्न मुस्किल हुन्थ्यो । महोत्सव पुरानो अंग्रेजी वर्षको बिदाई र नयाँ अंग्रेजी वर्षको स्वागतको छेकोमा राति अबेरसम्म मनोरञ्जनात्मक कार्यक्रम गरिन्थ्यो । पोखराको प्रमुख पर्यटकी क्षेत्र लेकसाइडमा संचालन हुँदै आएको ‘सडक महोत्सव’ आफैमा ब्राण्ड थियो । पोखरामा अहिले सुरक्षा प्रबन्धसहित पर्यटकीय गतिविधि सुरु भएका छन् । पोखरा पर्यटन परिषदले हालै देशका केही सहरमा पुगेर ‘जाऔं है पोखरा’ भन्दै पोखरा आउन निम्तो दिइसकेको छ । यसैगरि नाट्टाले पनि हालै प्रवद्र्धनात्मक अभियान सकेको छ । यस्तोमा सडक महोत्सवको आयोजना गर्ने ‘हिम्मत’ जुटाएर व्यवसायीहरुले अब होटल÷रेष्टुराँ अनन्तकालसम्म बन्द नगर्ने सन्देश पनि दिन खोजेका छन् ।
‘गएको ९ महिनायता पर्यटनसम्बन्धी गतिविधि भएका छैनन्,कतिपय व्यवसायी विस्थापित भैसकेका छन्भने कतिपय विस्थापित हुने क्रममा हुनुहुन्छ’, बुधबार महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक वसन्त गौतमले भने,‘यसपटकको सडक महोत्सवमा स्वास्थ्य प्रोटोकललाई ध्यानमा दिई हामी महोत्सव गर्ने निर्णयमा पुगेका छौं । संस्कृति झल्कने विभिन्न जातजातिका भेषभुषासहितका सांस्कृतिक कार्यक्रम सडकमै प्रस्तुत गरिनेछ ।’
रेबानले महोत्सव सम्पन्न गर्न कार्यसमिति सदस्य वसन्त गौतकको संयोजकत्वमा सचिव भिष्मराज पौडेल, सहकोषाध्यक्ष रोशनजंग कार्की सहसंयोजक रहने गरी विभिन्न उपसमितिहरु पनि बनाएको छ । रेबानका अध्यक्ष लक्ष्मण बरालले सडक महोत्सव स्थलको ३ वटा ठाउँमा हेल्थ डेक्स राख्ने,हरेक ३ किलोमिटर दूरीमा स्वास्थसम्बन्धी सूचना राखिने जानकारी दिए । यता, प्रशासनबाट स्वीकृति पाउने संकेतसँगै आयोजकले महोत्सवको घोषणा भए पनि स्वास्थ्यसँग सम्बन्धित विज्ञहरुले भने यसलाई ‘जोखिमपूर्ण कदम’को संज्ञा दिएका छन् ।
‘राजनीतिक नेतृत्वको निर्णयमा हामी बोल्न मिल्दैन, कोभिड सर्ने भनेको भीडबाटै हो, गतवर्षका भीडहरु सम्झने हो भने त्यहाँ सामाजिक दूरी कायम होला भनेर पत्याउने आधार छैन’, सामाजिक विकास मन्त्रालयअन्तर्गतका एक स्वास्थ्यकर्मीले भने,‘व्यवसाय जोगाउन खोज्नु एउटा कुरा होला, मान्छेलाई जीवन जोखिममा राखेर भीडमा नजाऊ भन्नु अर्को कुरा होला । हाम्रो जोड दोस्रोमै छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->