बागलुङ, ३ पुस– मोवाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ सुरु गरेको छ । यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने काम गर्ने कम्पनीले जनाएको छ । एनसेलका ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफुलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्नेछन् ।
एनसेलले आफ्नो हाल संचालनमा रहेको अभियान ‘अनपज’ (#unpause) अन्तर्गत यो सेवा संचालनमा ल्याएको हो । एनसेलका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवका अनुसार कोभिड–१९ ले रोजगारी गुमाएकाहरुलाई अनलाइन नेटवर्कमार्फत् जागिर दिलाउनु तथा कार्यस्थल भन्दा टाढै बसेर पनि काम गर्ने र रोजगारीका अवसरहरु खोज्नेहरुलाई लक्षित गरी यो योजना ल्याइएको हो ।
कामको खोजिमा रहेका व्यक्ति र काम दिने व्यक्तिको आवश्यकताबीच प्रत्येक पटक मेल खाएपछि दुवै पक्षलाई एसएमएस मार्फत सन्देश प्राप्त गर्न सकिने एनसेलले जनाएको छ । आफुले खोजिरहेको काम र आफ्नो दक्षता अनुसार प्रोफाइल बनाएर यो सेवा सुचारु गर्न सकिन्छ । काम खोज्ने र दिनेको आवश्यकतासम्बन्धी पोस्ट मेल खाएपछि एसएमएसमार्फत दैनिक रुपमा दुवै पक्षलाई यो सम्बन्धी जानकारी जान्छ ।
यो सेवा लिन इच्छुक ग्राहकले एस्ट्रिक्स१७१३७ह्यास डायल गरी वा एनसेलजबसप डट कम वेबसाइटमा गई दिइएको निर्देशन अनुसार कामदार वा काम दिने व्यक्तिले आफ्नो आवश्यकता अनुसार यो सेवा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । काम दिने व्यक्ति वा रोजगारदाताको लागि एउटा आवश्यकता पोस्ट गर्न कर सहित रु ६.३८ लाग्छ र एक पटक पोस्ट गरेको कामको विवरण एक हप्तासम्म रहने छ भने कामको खोजीमा रहेका ग्राहकले ३ दिन, ७ दिन, १ महिना, ६ महिना वा वार्षिक गरी विभिन्न समयसिमामा रहेर यो सेवा सुचारु गर्न सक्नेछन् ।





