बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदियो

रहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदियो


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७७, शुक्रबार

म्याग्दी, ३ पुस –दुई भाइ र छोरा अमेरिका,बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार ।
म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धु्रब थापालाई नपुग्दो केही छैन । बागलुङ बजारमा घर र बगरफाँटको जग्गा अरुले नै प्रयोग गरिरहेका छन् । अमेरिका र जापानमा रहेका भाइ,छोरो र बुहारीबाट मासिक रु १२ लाख भन्दा बढी थापाको हातमा पर्छ ।
तर,थापालाई भाइ र छोरा बुहारीले विदेशमा कमाएर पठाएको मासिक १२ लाख रुपैयाँले ऐयासी र घमण्डी बनाएन । बरु, उनीहरुले विदेशमा दुःख गरेर पठाएको पैसा वचत गरिदिने र घरखर्च लगाएत आफ्नो व्यवहारिक जीवन चलाउन आफ्नै माटोमा पौरख गर्ने जाँगर सिकायो । त्यो भन्दा पनि बढी थापाकै देखासिकीमा गाउँका युवाहरुले सानालेखमा तरकारी फलाउँ अभियान चलाएर आफैं स्वावलम्वी बनेर गाउँको मुहार नै फेर्न सफल भए ।
थापाले दुई वर्ष अघि रहरै रहरले शुरु गरेको बेमौसमी तरकारी खेतीले अहिले उनलाई व्यवसायिक मात्रै बनाएन् सरल स्वभावका पौरखी आग्र्यानिक कृषकको परिचय पनि दियो ।
थापाले सानालेखको आफ्नो घर नजिकै रहेको सात रोपनी बारीमा विभिन्न थरिका वेमौसमी तरकारी खेती गरेका छन् । १८ वर्ष विदेशमा बसेर आफैँ पनि प्रशस्त पैसा कमाएका थापाले दुई वर्षअघि रहरै रहरमा गरेको तरकारी खेतीबाट अहिले वार्षिक ३ लाख रुपैयाँ भन्दा बढी कमाइ गर्दै आएका छन् । उनको बारीमा अहिले काउली,बन्दा,खुर्सानी,धनियाँ,गोलभेडा,रायो सागलगायतका बेमौसमी तरकारी लटरम्मै फलेका छन् ।
‘मैले दुई वर्षअघि तीन रोपनी जग्गामा बेमौसमी तरकारी खेती शुरु गरेको हुँ’, थापाले भने, ‘अरुको देखेर रहरै रहरले सुरु गरेको तरकारी खेतीले अहिले मलाई व्यावसायिक बनायो,आम्दानी पनि राम्रै हुन थालेको छ ।’थापालाई अहिले तरकारी खेतीबाट भएको आम्दानीमा नै रस बस्न थालेको छ । थापाकै देखासिकी गरेर गाउँका १० जना युवाहरुले पनि व्यावसायिक तरकारी खेतीको सुरुवात गरेका छन् । थापालाई यसैमा आत्म सन्तुष्टि मिलेको छ । थापा भन्छन्,‘मैले गरेको वेमौसमी तरकारी खेती देखेर गाउँका अरु भाइहरुले पनि शुरु गरेका छन् । उनीहरुले पनि राम्रो कमाइ गरिरहेका छन् । मलाई सबैभन्दा धेरै खुसी यसैमा लागेको छ ।’
दुई वर्ष अघिसम्म चरेला,स्कुस,सिमी लगाएतका परम्परागत रैथाने तरकारी बाहेक अरु तरकारी खान मनलागे बजारबाट किनेर ल्याउनु पर्ने बाध्यतामा रहेका सानालेखवासीका वारीमा अहिले विभिन्न किसीमका बेमौसमी तरकारी लटरम्मै झुलेका छन् ।
स्थानीय हरिप्रसाद शर्मा भन्छन्,‘अहिले त गाउँको रौनक नै फेरिएको छ,रहरै रहरमा धु्रब जीले गरेको तरकारी खेतीले गाउँलेलाई गर्न जाने पछि हुँदो रैछ त भन्ने बनाएको छ । अहिले हाम्रो गाउँ बेमौसमी तरकारी खेतीको हब नै बनेको छ ।’
सानालेखका हरि शर्मा,महेन्द्र थापा,नारायण शर्मा लगाएतका १० जना युवाहरुले अहिले व्यवसायिक तरकारी खेती शुरु गरेका छन् । उनीहरुले तरकारी बेचेर एक सिजनमा रु २ लाख बढी आम्दानी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->