मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

च्याउखेती सिक्न किसानको जमघट

च्याउखेती सिक्न किसानको जमघट


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०७७, सोमबार

बागलुङ, ६ पुस– बागलुङ नगरपालिका–३ गौडाकोटमा आईतबार साविकको धौलागिरीका चार जिल्लाका अगुवा किसान जम्मा भएका छन् । तरकारी गाउँको परिचय बनाएको गौडाकोटमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अगुवा किसानको जमघट छ । रेशम विकास कार्यक्रम कास्कीका बाली संरक्षण अधिकृत विनोद हमालसहितका कृषि विज्ञ तथा प्राविधिकहरु किसानका साथमा छन् । उनीहरु ६ दिनपछि छुट्ने छन् ।
गाउँदेखि शहरसम्म तरकारीको रुपमा प्रयोग हुने च्याउको माग बढ्दो छ । व्यवसायीक रुपमा तरकारीको खेती गर्ने किसानका लागि च्याउको खेती आशालाग्दो बाली हो । त्यहि च्याउ खेती गर्ने विधि र प्रक्रियाको विषयमा सिक्न र सिकाउन उनीहरु बागलुङमा जम्मा भएका हुन् । यहाँको मिरमिरे कृषि सहकारीले उनीहरुलाई एकैठाउँमा जम्मा हुने प्रबन्ध मिलाएको हो ।
रेशम विकास कार्यक्रम पोखराको आयोजनामा छ कार्यदिने व्यवसायीक च्याउ खेती तालिमको आयोजना भएको छ । ‘यो सिक्ने र सिकाउने प्रक्रिया हो, किसानलाई व्यवसायीक बनाउनका लागि हामीले प्रयास थालेका छौं’ रेशम विकास कार्यक्रम कास्कीका बाली संरक्षण अधिकृत बिनोद हमाल भन्छन्– ‘उहाँहरु जाँगर बोकेर आउनुभएको हामी ज्ञान बाढ्छौं ।’
मिरमिरे सहकारीमा आबद्ध यहाँका किसानले यसअघि पनि गौडाकोटमा च्याउ खेती गर्दै आएका छन् । गौडाकोटमा उत्पादन भैरहेको गोबरे, सिताके र केन्या च्याउ खेती तालिममा प्रयोगात्मक बढी हुने हमाल बताउँछन् । ‘यो किसानका लागि अवसर हो, प्रयोगात्मक सिकाईले व्यवहारिक बनाउँछ’ गण्डकी प्रदेश स्तरीय च्याउ खेती सञ्जालका सचिव गंग बहादुर थापाले भने ‘व्यवसायीक उत्पादनको सुरुवाती भनेर बुझेका छौं ।’
बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा तीन जातका च्याउको खेती राम्रो हुने गरेको कृषि प्राबिधिकहरु बताउँछन् । स्थानीय बजार र पोखरासम्म निर्यात गर्न सक्नेगरी यहाँका किसानलाई व्यवसायीक बनाउन थालिएको कार्यक्रमले जनाएको छ ।
उर्जा र जाँगर भएका किसानको लागि व्यवहारीक ज्ञानको अभाव मेट्नेगरी तालिम आयोजना भएको तालिम संयोजन गरिरहेको सहकारीका कोषाध्यक्ष थानेश्वर सुवेदीले बताए । ‘सरकारका किसान लक्षित अनेक कार्यक्रम छन्, उपयोग गर्न किसानले पनि जाँगर देखाउनुपर्छ’ बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले भने ‘सिपलाई व्यवहारमा उतार्दा व्यवसायीक भईन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->