पर्वत, ७ पुस– दैनिक साढे तीन घण्टा बन्द हुँदै आएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सोमबारदेखि नियमितरूपमा सञ्चालन भएको छ । सडक चौडा बनाउन दैनिक तीन घण्टा बन्द गरिए पनि सोमबारदेखि यातयात सञ्चालन गरिएको हो । यसअघि हरेक दिन दैनिक बिहान ११ देखि दिउँसो २ः३० बजेसम्म यातायात बन्द हुँदै आएको थियो ।
राष्ट्रिय गौरवको आयोजनाको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका–८ चुवाको भिरमा कटान गर्न तीन हप्ताका लागि सडक बन्द गरिएको थियो । निर्माणकार्य पनि अघि बढाउँदै अवरुद्ध सडक पनि सञ्चालन गरिएको सडक निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्शन कम्पनीले जनाएको छ ।
सडक चक्लाबन्दी गर्ने काम भने अहिलेसम्म ३० प्रतिशत मात्रै सकिएको छ । लामो समयसम्म सडक बन्द गरिरहँदा समस्या हुने भएकाले तीन हप्तापछि सञ्चालन गरिएको र केही हप्तापछि बन्द गरेर बाँकी खण्ड पूरा गर्ने योजना रहेको कम्पनीले जनाएको छ । “केही समय बन्द खोलेर पनि काम गर्छौँ, नसकिएको खण्डमा पछि बन्द गरेर पनि पूरा गर्ने योजना बनाएका छौँ”, कम्पनीका प्रतिनिधि राजाराम आचार्यले भने।





