पर्वत, ८ पौष– पर्वतको जलजला गाउँपालिकाले लक्षित वर्गलाई आयआर्जनसँग जोड्न बिउँपुजी दिने कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका विभिन्न वडामा स्थानीय जातका कुखुरापालन र टपरी बुन्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाले लक्षित वर्ग आयआर्जन कार्यक्रमअन्र्तगत वडा नं. २ र ६ मा स्थानीय जातका कुखुरका चल्ला वितरण गरेको जनाएको छ । महिला बालबालिका, ज्येष्ठ नागरिक, जनजाति अपाङ्ग, दलितलगायत लक्षित वर्गलाई स्थानीय जातका कुखुराका चल्ला वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सिमा गर्वुजाले बताईन् ।
पहिलो चरणमा दुई हजार ८० चल्ला वितरण गरिएको छ । घरायसी प्रयोजनका अलवा आयआर्जन हुनेगरी उत्पादन बढाउन गाउँपालिकाले लगानी गरेको उनको भनाई थियो । बिउँपुजीका रुपमा वितरण भएका चल्लाबाट व्यवसायीक उत्पादनमा लाग्न उनले आग्रह गरिन् । युवापुस्ता विदेशमा रहने र घरमा बस्नेहरुले कुखुराको उत्पादनबाट घरखर्च चलाउन सक्ने भएकाले चल्ला दिईएको उनको भनाई थियो ।
दुई वडाका १ सय २५ परिवारले बिउँपुजीको रुपमा अनुदानमा कुखुराका चल्ला पाएका छन् । उपाध्यक्ष गर्वुजाले टोल टोलमा पुगेर चल्ला वितरण गरेकी थिईन् ।
यस्तै, वडा नं ४, ७, ८ का महिला समुहलाई आयआर्जनसँग जोडिन भन्दै एक÷एक थान टपरी बुन्ने मेसिन वितरण गरेको उपाध्यक्ष पुनले बताईन् । सालको पातबाट टपरी बनाउने मेसिनले महिलालाई सामूहिक उत्पादनमा जोड दिईने उनले बताईन् । महिलाहरुले मेसिन पाएपछि खुसी व्यक्त गरेका थिए । गाउँघरमा विशेष समारोहमा आवश्यक पर्ने टपरी र बजारमा बिक्रीका लागि समेत तयारी गरिने महिलाहरुले बताए ।





