बागलुङ, ९ पुस – मालिका सेवा समाज बागलुङले यहाँको विपन्न परिवारका मृगौला पीडित सन्तोष किसानको उपचारका लागि करीव १३ लाख नगद सहयोग गरेको छ । जिल्लाको बागलुङ नगरपालिका-५ मालिकाका मृगौला पीडित सन्तोष किसानको उपचारको लागि समाजले संकलन गरेको नगद रु.१२ लाख ७३ हजार ७१८ रुपैयाँ सहयोग गरेको हो । समाजका संरक्षक तथा पूर्व राज्यमन्त्री रामजी प्रसाद शर्मा र समाजका अध्यक्ष दुर्गा कुवँरले सो रकम बिरामीका दाजु नवीन किसानलाई एक कार्यक्रमका विच बुधवार हस्तान्तरण गरे ।
सो अवसरमा मन्तब्य राख्दै समाजका संरक्षक शर्माले वर्तमान विषम परिस्थितिमा पनि समाजले धेरै रकम संकलन गर्न सफल भएकोमा धन्यवाद दिदै उक्त सहयोगले पिडित किसानलाई ठूलो राहत पुराउने वताए । समाजका अध्यक्ष कुवँरले स्वदेश तथा बिदेशमा रहेका नेपाली दाजुभाईहरुको सहयोगी मनका कारण उक्त रकम जुट्न सफल भएको वताउदै सहयोगी सवैलाई धन्यवाद दिए ।

समाजका कोषाध्यक्ष दुर्गा केसीका अनुसार उक्त रकम मालिका सेवा समाज बागलुङबाट,३ लाख ३६ हजार १५१, मालिका सेवा समाज पोर्चुगलबाट १लाख २७ हजार ४७०, युकेबाट १ दाख ८५ हजार ९२०, कोरियाबाट १ लाख ५३ हजार ९११, दुबईबाट १ लाख ३० हजार, कतारबाट ८९ हजार ८५२, साउदी अरबबाट ८२ हजार ११०, इन्डियाबाट ५८ हजार ३०४, स्थानीय समन्वयबाट ९० हजार र मालिका वडा कार्यालयबाट २० हजार नगद सहयोग प्राप्त भएको जानकारी दिए । कार्यक्रम समाजका अध्यक्ष दुर्गा कुवँरको अध्यक्षता, उपाध्यक्ष विष्णु कुँवरको स्वागत र सचिव तेज बहादुर कुँवर सन्तोषको सञ्चालनमा समपन्न भएको थियो ।





