
पोखरा, ९ पुस – पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले वडाहरुले खेप्दै आएको आर्थिक व्यवस्थापनको समस्याको समाधान केहि दिनमै गर्ने बताएका छन् ।
महालेखा परिक्षकको कार्यालय र राष्ट्रबैंकले महानगरका वडाहरुलाई खाता संचालन अनुमति दिएको कारण समस्या समाधान हुने बताए । महानगरको २०७७/७८ को प्रथम चौमासिक प्रगति समिक्षा बैठकमा बोल्दै जिसीले सो कुरा बताएका हुन । उनले स्वच्छ प्रणालीको विकास गरी वडा कार्यालयहरुका समस्या समाधान गर्ने कार्यमा आँफू लागिपरेको बताए । जन अपेक्षा अनुरुप काम गर्न वडा अध्यक्ष तथा सचिवहरुलाइ निर्देशन दिए ।
कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जनताका काममा भएको ढिलासुस्तीमा प्रशासनलाइ मात्र दोष दिन नहुने बताए । बजेट बनिसकेपछि मात्र आफू पोखरा महानगरमा नियुक्त भएको भन्दै बरालले समस्याको पहिचान गरेर निकास दिनेगरी काम गर्ने बताए । समीक्षा बैठकमा पोखरा महानगरका ३३ वटै वडाका वडा अध्यक्ष र सचिवहरुले चार महिनाको अवधिमा गरेका कामको प्रगति विवरण प्रस्तुत गरे ।





