बागलुङ, १० पुस– बागलुङ उद्योग वाणिज्य संघले गतवर्ष आयोजना गरेको महोत्सवको खर्च सार्वजनिक गरेको छ । महोत्सव सकेपछि देशमा कोरोना संकट आएको, लकडाउनको कारण धेरै समयसम्म क्रियाकलाप गर्न नसकेको भन्दै संघले एक बर्षमा खर्च सार्वजनिक गरेको हो ।
संघका अध्यक्षले जारी गरेको विज्ञप्तीमा महोत्सवमा कुल १ करोड १६ लाख उनन्सत्तरी हजार आम्दानी गरेको बताइएको छ । उक्त आम्दानीबाट ९४ लाख २२ हजार खर्च गरिएको देखाइएको छ । संघले २० लाख नाफा गरेको हो ।
संघका अनुसार, महोत्सवको स्टलबाट २४ लाख, सहयोगी संस्थाबाट ५१ लाख, टिकटबाट ३८ लाख ७१ हजार, आन्तरिक आम्दानी १ लाख २० हजार आम्दानी गरेको देखिएको र १ लाख ७५ हजार रुपैयाँ उठ्न बाँकी रहेको बताइएको छ ।
त्यस्तै संघले क्याम्पसको मैदान लिएबापत विद्यार्थी हित कोषमा ५ लाख जम्मा गरिदिएको छ । आर्थिक खोजमुलक पत्रकारिता कोषमा २ लाख २२ हजार, व्यवसायी उद्यमी कल्याणकारी कोषमा ५ लाख, संघको मूल अक्षयकोषमा ४ लाख जम्मा गरेको पनि बताइएको छ । संघले व्याज सहित मौज्दात स्वरुप ६ लाख २४ हजार रुपैयाँ कार्यालयमा राखेको बताएको छ ।





