बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भूपी साहित्य पुरस्कार सुकुम शर्मालाई

भूपी साहित्य पुरस्कार सुकुम शर्मालाई


  • ढोरपाटन संबाददाता
  • पुष १० २०७७, शुक्रबार

बागलुङ, १० पुस– धवलागिरि साहित्य प्रतिष्ठानले यो वर्षको भूपी साहित्य पुरस्कार साहित्यकार सुकुम शर्मालाई प्रदान गरेको छ ।
‘सिर्जनाको परिधिमा भूपी शेरचन’ नामक समालोचनात्मक कृति प्रकाशित गरेको कारण शर्मालाई उक्त पुरस्कार दिइएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए । पुख्यौली स्याङजा भएका शर्मा त्रिभूवन विश्वविद्यालयको नेपाली विभागका सहप्राध्यापक समेत हुन् ।
शुक्रबार आयोजित ८६ औं भूपी जयन्ती समारोहको अवसरमा उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य न्यायाधिस मोहनबहादुर कार्कीले शर्मालाई सम्मान र पुरस्कार प्रदान गरेका थिए । प्रतिष्ठानले थालेको रकम संकलन अभियानमा स्वर्गिय शेरचनकी धर्मपत्नी कान्ती शेरचनले २ लाख रुपैयाँ थप गरेपछि अहिले ६ लाख रुपैयाँको अक्षयकोष बनेको छ । उक्त कोषबाट प्रतिष्ठानले शर्मालाई २५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरेको हो ।
पुरस्कृत शर्माले भूपीको कृतिमा समालोचना गर्नुको साथै दर्जनबढी अन्य साहित्यिक कृति पनि प्रकाशित गरेका छन् । प्रतिष्ठानले यो वर्षको भूपी साहित्य सम्मान लकास पौडेललाई दिने निर्णय गरेको अध्यक्ष रोशनले जानकारी गराए । स्वास्थ्य समस्याको कारणले पौडेल उपस्थित हुन नसकेको भन्दै कार्यक्रममा शुभकामना सन्देशसमेत उनले पठाएका थिए ।
उक्त अवसरमा पुरस्कार प्रदान गर्दै मुख्य न्यायाधिस कार्कीले भूपीबाट नेपालीले धेरै कुरा सिक्नुपर्ने बताए । शेरचनको राष्ट्रियता, व्यंगात्मक आलंकार र सक्रियताले नेपालीलाई सधै साहित्यको बाटोमा हिंडाउन प्रेरणा दिएको बताए । उनले नेपाली साहित्यको विकासमा प्रतिष्ठानले खेलेको भूमिकाको पनि प्रशंसा गरे ।
प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, सचिव राम थापा अविरलको संचालन, सदस्य वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला न्यायाधिस बासुदेव रेग्मी, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, पुरस्कृत व्यक्तित्व सुकुम शर्मा, प्रतिष्ठानकै संस्थापक सदस्य श्याम श्रेष्ठलगायतले मन्त्वय राखेका थिए । कार्यक्रममा सुरसाधना संगीत विद्यालयका सूर्य घतानेलगायतका कलाकारले राष्ट्रिय भावनाका गीत गाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->